धरान/प्रधानमन्त्री शेरबहादुर देउवाले कोशी उच्चबाँध बनाउने विषयमा सहमति गरेसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कोशी व्युरोले आन्दोलन थाल्ने भएको छ । प्रम देउवाले गरेको सहमति राष्ट्रघाती रहेको पार्टीको ठहर छ । यस अघि पनि बारम्बार पार्टीले कोशी उच्च बाँधलाई निरन्तरता दिन नहुने अभिव्यक्तिहरु सार्वजनिक गर्दै आइरहेको थियाे । यसबीचमा प्रम देउवाले समकक्षी भारतीय प्रम नरेन्द्र मोदीसँग गरेको ४६ बुँदे सहमति अन्तर्गत कोशी उच्च बाँध २८ नम्बरमा रहेको छ । उक्त सहमति र सम्झौता खारेजको माग गर्दै पार्टीैको कोशी व्युरोले भदौं २२ गते धरानमा वृहत जनप्रदर्शन गर्ने कोशी इन्चार्ज नविनले शनिबारको पत्रकार सम्मेलनमा बताए । उनले यो पहिलो चरणको आन्दोलन हुने बताए । कोशी उच्च बाँध बनाउने विषयमा सन् १९४६ देखि १९५५ सम्म विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको र यो देशको हित विपरीत रहेकाले नेपाली जनताले यसको प्रतिरोध गर्नुपर्ने पार्टीका जलस्रोत विभाग संयोजक रामप्रसाद राईले बताए । उनले भारतले विद्युत र सिचाईमा फाइदा लिने र नेपाललाई डुवान बनाएर त्यही विद्युत नेपाललाई नै बेच्न लागेको बताए । उनले भने, ‘कोशी उच्च बाँध नेपालको हित विपरीत छ । यो सम्झौता खारेज हुनुपर्छ ।’ उनका अनुसार नेपालको धनकुटा, उदयपुर, भोजपुर, सिन्धुली, ओखलढुंगा, रामेछाप, खोटाङ, तेह्रथुम, पाँचथर, संखुवासभालगायतका पहाडी जिल्ला पनि उच्च बाँधले डुवानमा पर्ने बताए । त्यसले राष्ट्रघाती सम्झौता खारेज गर्दै साना तथा मझौला आयोजनाहरु नेपालले नै बनाउनु पर्ने बताए । कोशी उच्चबाँध बराहक्षेत्रदेखि १ दशमलव ६ किलोमिटर माथि सुनखम्बीमा बनाउन लागिएको छ । जुन स्थान चुरे पहाडी क्षेत्रमा पर्ने भएकाले त्यसको भू वनौटसमेत कमजोर हुने भौगर्भिक तथा बैज्ञानिक दृष्टिले पनि उपयुक्त नरहेको उनले बताए । चुरे क्षेत्रको इतिहास २ सय वर्षको मात्रै छ । धनकुटाको आहाले र उदयपुरको मैनामैनी क्षेत्रमा करिव एक किलोमिटर लामो, २ सय ६९ अग्लो बाँधमा १३ अर्व ४५ करोड घनमिटर विशाल ताल बन्ने पार्टीको दाबी छ । यसले गर्दा पनि उक्त क्षेत्रमा उच्च बाँध बनाउन उपयुक्त नहुने पार्टीले जनाएको छ । पार्टीले कोशी उच्चबाँधको विषयमा देशव्यापी आन्दोलन थाल्नेसमेत बताएको छ ।