[caption id="attachment_54365" align="alignleft" width="400"] नेरुडेको केन्द्रीय कार्यालय[/caption]

विराटनगर/ विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त विकास बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजानिक गरेका छन् ।  बैंकले कर्मचारीहरुको मागप्रति बेवास्ता गरेपछि कर्मचारीको संगठन बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे (वीएफइयुएन)ले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

कर्मचारी संगठनले समयानुकल कर्मचारीका सेवा सुविधा बृद्धि गर्नु पर्ने माग राख्दै बैंक ब्यवस्थापनलाई गत असार ९ गते २२ बुँदे ज्ञापनपत्र दिएको थियो । ज्ञापनपत्र बुझाएपनि ब्यवस्थापनले कर्मचारीका मागप्रति कुनै चासो नदेखाएको आन्दोलनको कार्यक्रम सार्वजानिक गरिएको उनीहरुको भनाई छ ।

कर्मचारीलाई काममा लगाउने तर आधिकारिक कर्मचारी युनियनको मागलाई सम्बोधन गर्न छलफलसमेत नगरेपछि संगठनले पुनः साउन ३ गते ब्यवस्थापनलाई ध्यानाकर्षण पत्र पठाएको थियो । ध्यानाकर्षण पत्र बुझेको ३ सातापछि पनि बैंक ब्यवस्थापन टसको मस नभएपछि कर्मचारी संगठनले साउन २९ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको थियो । तर, साउन २४ गते पत्राचार गर्दै वार्तामा बोलाएकोमा दुई चरणमा छलफल गरेपनि सहमति नभएपछि आन्दोलनमा जानु परेको कर्मचारी संगठनका अध्यक्ष आजाद आलमले बताए ।

युनियनले ब्यवस्थापनसँग धेरै लचकता अपनाए पनि ब्यवस्थापनले कर्मचारीका मागलाई हल्का रुपमा लिएको अध्यक्ष आलमको भनाइ छ । भदौ १५ देखि इलाका स्तरका कार्यलयमा तालाबन्दी र सबै शाखा उपशाखा बन्द गर्ने कार्यक्रम रहेको छ । व्यस्थापनले कानुन र नियमको खिल्ली उडाई मागलाई सम्बोधन गरेपछि कर्मचारी संगठन आन्दोलनमा निस्कन बाध्य भएको कर्मचारीको भनाइ छ ।

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मणिकुमार अज्र्यालले भने आफू बार्तामा नबसेकोले कर्मचारीको मागका विषयमा कुनै जानकारी नभएको बताए । २०५७ एनआरडिसीएसका नाममा स्थापना भएको लघुबित्त बैंकले २०६४ मा नाम परिवर्तन गरी नेरुडे लघु वित्त विकास बैंक लिमिटेड बनाएको हो ।

नेरुडेले हाल २५ जिल्लामा ७८ वटा शाखा तथा उपशाखा कार्यालय सञ्चालन गरिरहेको छ । नेरुडेमा हाल ४३४ जना स्थायी र ६६ जना अस्थायी, ज्यालादारी गरी कुल ५ सय जना कर्मचारी कार्यरत छन् । एक महिनाभित्र संगठनले आन्दोलनको घोषणा गरेको यो दोस्रो पटक हो ।