ताप्लेजुङ । मेची राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा यातायात ठप्प भएको छ । ताप्लेजुङ–पाँचथरका विभिन्न स्थानमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
फुङलिङ नगरपालिका–८ मा पर्ने दोखुस्थित धुसेनी भिरदेखि बहानन्देसम्मको स्थानमा गत वर्ष झरेको पहिरोबाट आएको भलबाढिले सडक पुर्दा र केही स्थानको सडक नै भत्किँदा यातायात सञ्चालन हुने अवस्था नरहेको स्थानीय रुपनारायण भट्टराईले बताए ।
सडक डिभिजन कार्यालयको स्काभेटरले पहिरो पन्छाउन सुरु गरिसकेकाले सडक सुचारु हुन केहि समय लाग्ने डिभिजन कार्यालयका सुपरभाइजर नविन उप्रेतीले बताए । केही स्थानमा मोटरसाइकलसमेत छिर्न नसक्ने गरी सडक पुरिएकाले सफाइ र मर्मतका लागि कम्तीमा पनि ४र५ घन्टा लाग्ने उनको भनाइ छ ।
सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट पाँचथर, इलाम, झापा हुँदै विभिन्न स्थानमा जाने यात्रुवाहक सवारीसाधन बीच बाटोमा नै रोकिएका छन् । गएराति देखि सुरु भएको भारी वर्षा नरोकिँदा बिहान चाँडै बाटो सफा गर्न समस्या भएको वुझिएको छ ।