दमक विश्व बैंकले झापाको दमकमा करिब पाँच अर्ब लगानी गर्ने भएको छ । दमकको भौतिक तथा पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयमार्फत पाँच अर्ब लगानी भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ ।

दमकको भौतिक तथा पूर्वाधार विकासका लागि विश्व बैंकले एक वर्षभित्रमा योजनाको अध्ययन र छनोटसमेत गरेर लगानी गर्ने नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । प्रारम्भिक चरणको तयारी तीव्रताका साथ सञ्चालनमा रहेको प्रमुख ओलीले उल्लेख गरे । परियोजना ल्याउनका लागि आवश्यक सबै तयारी एकैसाथ थालेकोले अब दमकमा यस परियोजनाबाट हरेक क्षेत्रमा विकासले फड्को मार्ने उनको भनाइ छ । परियोजना सञ्चालन गर्नका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक सुझावसहित अन्तरक्रिया सञ्चालनमा रहेको उनले बताए । आयोजनाको प्राविधिक पक्ष सिमेका–विम–होमल्याण्ड जेभी कन्सल्ट्याण्टले सहजीकरण गरी आएको नगरपालिकाले जनाएको छ । नगरपालिका र प्राविधिक संस्थाले महिना दिनदेखि परियोजनाका बारेमा छलफल सञ्चालन गर्दै आएको उनले जनाए ।

दमकका सबै वडाबाट योजना छनोट गरेर महत्वपूर्ण तीनवटा योजनाको भने डिपिआर नै तयार हुने र योजना छनोटमा दमकमा शिक्षा, स्वास्थ्य, नदी नियन्त्रणलगायतका विषय समावेश हुने नागरपालिकाले जनाएको छ ।

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले लगानी गर्ने पूर्वका प्रमुख चारवटा नगरपालिकाको अध्ययन गरी योजना छनोट गरिने अध्ययन टोलीका प्रमुख अजयचन्द्र लालले जानकारी दिए ।