इटहरी/बजारमा ध्वनी प्रदुषण कम गर्न इटहरी चौकलाई हर्न निषेधित क्षेत्र घोषणा गरिए पछि नियम उल्लङ्घन गरेको अभियोगमा ६८ वटा सवारी साधान कारवाहीमा परेका छन् । तर, हर्न बजाउन अभ्यस्त भएका सवारी चालकहरुले हर्न निषेधित क्षेत्रको पूर्ण कार्यान्वयन गरेको पाइदैन ।
यसै क्रममा निषेधित क्षेत्रमा हर्न बजाएको भन्दै पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले ६८ वटा सवारी साधानलाई कारवाही गरी ३५ हजार ५ सय रुपैयाँ जरिवाना गरेको छ । ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक मेघराज थापाका अनुसार हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ५० वटा ट्रक, ३ वटा बस, ८ वटा सानो चार चक्के गाडी, एक ट्याक्टर र ६ वटा मोटरसाइकललाई जरिवाना गरिसकिएको छ । ५ सय रुपैयाँदेखि १५ सय रुपैयाँ जरिवाना गर्दै आएको प्रहरी निरिक्षक थापाले बताए ।
काठमाडौं पछि केही मुख्य शहरसँगै इटहरीमा पनि हर्न निषेधित गरिएको हो । हर्न निषेधित क्षेत्रकै कतिपय सडक विग्रीएर खाल्डाखुल्डी भएको कारण पनि सवारी चालकहरुलाई हर्न बजाउन बाध्यता भएको सवारी चालकहरु बताउँछन् । सडक पेटी अतिक्रमण हुन र सडक पार गर्ने यात्रीहरुले तोकिएको स्थानबाट सडक पार नगर्दा पनि सवारी चालहरु हैरानी व्यहोरिरहेका छन् । यता सार्वजनिक सवारीहरु पनि निश्चित स्थानमा नरोकी आफु अनुकुल स्थानमा मात्रै रोक्नुले ट्राफिक व्यवस्थापनमा पनि समस्या हुँदै आएको छ । प्रयाप्त जेब्राक्रस नहुनु, साइकल, विद्युतीय रिक्साले तोकिएको रुट प्रयोग नगर्नुले पनि हर्न निषेधित क्षेत्र उल्लङ्घन भइरहेको पाइएको छ । साउन १९ गतेदेखि इटहरीलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।
पूर्वमा ओम पेट्रोल पम्प, दक्षिणमा साथी फ्यूल सेन्टर, उत्तरमा पूर्वी पृतना र पश्चिममा कलंकी मोड सम्म कुनै पनि सावरी साधानले हर्न बनाउन नपाउने निर्णय भएको ट्राफिक प्रहरीले जनाएको छ । गत असार १८ गते क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा बसेको बैठकमा सरोकार निकायको समेत सहभागिता रहेको थियो । विद्यालय सञ्चालक, यातायात व्यवसासी तथा मजदुरका प्रतिनिधी समेतको सहभागितामा सो निर्णय भएको हो ।