भद्रपुर । पछिल्लो समय भद्रपुर नगर क्षेत्रमा चोरीका घट्ना भइरहेपनि प्रहरीले नियन्त्रण गर्न सकिरहेको छैन । झापाको भद्रपुर नगर क्षेत्रमा पटक पटक चोरीका घटनामा प्रहरी असफल बन्दै गएको पाइएको हो । वडा प्रहरी कार्यालय भद्रपुरदेखि एक किलोमिटर क्षेत्रभित्र सोमबार राती तीन लाख बढीको धनमाल चोरीको घट्नाले प्रहरीको निस्कृयता पुष्टि गरेको छ । भद्रपुर ६ नेपाल बैक अगाडीका वृजकिशोर गुप्ताको घरमा चोरी भएको हो । गुप्ताले दिएको जानकारी अनुसार दराज फुटाएर ६ तोला सुन, २ किलो चाँदीको गरगहना, एउटा एलइडी टिभी र नगद ५ हजार लगेको बताए । गुप्तासहित उनका परिवार चोरी भएको कोठासगै टासिएको कोठामा सुत्दै आएका थिए । चोरी भएको कोठामा कोही सुत्ने नगरेकोले मौका छोपी चोरी गरेको स्थानीयबासीले अनुमान गरेका छन् । गुप्ताको घरमा चोरी भएको घटना थाहा पाउन साथ वडा प्रहरी कार्यालयका असई ऋषि निरौलासहितको प्रहरी टोली मंगलबार विहान घटनास्थल पुगेको थियो । घट्नाको सम्पूर्ण विवरण असई निरौलाले लिएर गएको स्थानीयले बताए । वडाका सई देवराज शर्माले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । यस अघि केहि चोरलाई जिल्ला पुर्याएको शर्माको भनाइ छ । भद्रपुरमा यसअघि पनि पटक पटक चोरीका घटना भएको छ । भद्रपुरमा घरदेखि मन्दिर समेतमा सुन, नगद तथा जिन्सी लगायतका सरसामान चोरी भइसकेको छ । तर, प्रहरीले अहिले सम्म चोरी गर्न गिरोहलाई पक्राउ गर्न सफल भएको छैन । चोरीका घट्ना नरोकिएपछि भद्रपुर बजार आसपासका स्थानीय त्रसित बनेका छन् ।