तेह्रथुम/जिल्ला प्रशासन कार्यालय तेह्रथुमले घुम्ती शिविरमार्फत झण्डै १५ सयजनालाई नागरिकता वितरण गरेको छ । कार्यालयले स्थानीय तहका केन्द्रहरुमै पुगेर सर्वसाधारणलाई नागरिकता प्रदान गरेको हो ।

कार्यालयले दुई हप्तासम्म जिल्लाका १ नगरपालिका र ४ गाउँपािलकामा घुम्ती शिविरको आयोजना गरी १ हजार ४ सय ९४ जनालाई नागरिकताको प्रमाण–पत्र प्रदान गरेको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।

नागरिकको घरदैलोमै पुगेर सरकारले सेवा प्रदान गर्ने उद्देश्य अनुरुप पछिल्लो दुई हप्तामा अभियानकै रुपमा घुम्ती शिविर सञ्चालन गरी नागरिकता वितरण गरिएको प्रजिअ खनालले बताए ।

सहायक प्रमुख जिल्ला अधिकरीद्वय उमेश घिमिरे र जयप्रकाश बस्नेत सहित कर्मचारीको टोलीले नगरपालिका र गाउँपालिकाका केन्द्रमै पुगेर स्थानीय बासिन्दालाई नागरिकता वितरण गरेको हो ।

टोलीले छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा ३ दिने शिविर मार्फत ३ सय ११ जना, फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा ५ दिनसम्म घुम्ती शिविर राखेर ४ सय ५७ जनालाई नागरिकता वितरण गरेको छ ।

मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङमा ३ दिने शिविरमार्फत २ सय जनालाई नागरिकता वितरण गरिएको छ । लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुरमा २ दिने शिविरमार्फत ५ सय २६ जनालाई नागरिकता वितरण गरिएको प्रशासनका सुचना अधिकारी जयप्रकाश वस्नेतले बताए ।