शनिश्चरे/हेफर इन्टरनेशनलको आर्थिक सहयोगमा बुढी खोलाको बाढीबाट पिडीत मोरङको सुन्दरहरैंचा ४ बलियाका २ सय ६३ घर परिवारलाई सोमबार खाद्यान्न र भाडाकुँडा सहितको राहत वितरण गरिएको छ ।

चौतारी महिला वचत समूहको अयोजनामा बाढीबाट अतिप्रभावित १ सय १० परिवारलाई चामल, दाल, भाँडाकुँडा, तेल, नून, सावुन, त्रिपाल, झुल सहित प्रतिपरिवार ३ हजार ३ सय ८२ रुपैयाँ बराबरको राहत वितरण भएको छ ।

त्यस्तै, कम प्रभावित १ सय ५३ परिवारलाई पनि भाँडाकुँडा बाहेक २ हजार ४ सय ६७ प्रति परिवारका दरले सोही प्रकारको राहत सामग्री प्रदान गरिएको हेफरका कर्मचारी हेम श्रेष्ठले बताए ।

हेफरले, मंगलबार गछिया र बुढीखोलाको बाढीबाट प्रभावित सुन्दरहरैंचा ६ र ७ मा ३ सय ५० परिवारलाई उसैगरी राहत वितरण गर्ने पनि श्रेष्ठले उल्लेख गरे ।

यसैगरी, जिल्लाको उर्लाबारी नगरपालिकाले यसबर्ष वाढीबाट पिडीत भएका ४६ परिवारलाई राहत सामग्री बितरण गरेको छ ।

नगरपालिकाले मावा, वक्राहा र सोल्टी खोलाको बाढीबाट प्रभावित वडा नं.३, ८ र ९ का परिवारलाई राहत सामग्री बितरण गरेको हो । नगरपालिकाले प्रति परिवार २५ किलो चामल, ५ किलो दाल, २ किलो नून, ५ किलो चिउरा, ३ किलो भुजाका साथै भुजिया, सोयाविन, प्याकेट दुध, खानेतेल र मैनवत्ती प्रदान गरेको हो ।