विर्तामोड । झापाका राजनीतिक दलका प्रमुखहरुले जनप्रतिनिधिलाई स्थानीय सरकार र जनताको अभिभावकको रुपमा साझा भएर काम गर्न सुझाव दिएका छन् । दलको स्वार्थभन्दा माथि रहेर बिना भेदभाव काम गर्न उनिहरुले सुझाव दिएका हुन् । संवाद समूह झापाको संयोजनमा आइतबार बिर्तामोडमा भएको छलफलमा स्थानीय तहमा विभिन्न समस्या र चुनौति उत्पन्न भएको बताउँदै झापाका दलका नेताहरुले समस्या समाधानमा आफ्नो सहयोग रहने प्रतिबद्धता समेत जनाए । उनीहरुले सरकार र जनप्रतिनिधिलाई चार बुँदे सुझाव समेत दिएका छन् । राहत वितरण, विकास, समृद्धिका लागि अग्रसर हुन उनीहरुले सुझाएका छन् ।

जनप्रतिनिधिहरु दलीय सोच र घेराबाट माथि नउठ्दा कतिपय ठाउँमा विवाद र द्वन्द्वको सम्भावना बढेको बताउँदै निर्विवाद, निष्पक्ष र पारदर्शी ढंगले काम गर्न, स्थानीय क्षेत्रका दलहरुसँग समन्वय र सहकार्यका लागि समेत जनप्रतिनिधिलाई सुझाव दिएका थिए । स्थानीय तहमा कर्मचारी समायोजन, कार्यालय व्यवस्थापन, प्रशिक्षण लगायतका समस्यालाई तत्काल समाधानको पहल गर्न जिल्ला समन्वय समिति झापालाई सुझाव दिएका छन् । त्यस्तै स्थानीय तहको सञ्चालनका लागि आवश्यक स्थानीय तह सञ्चालन योजना तथा कार्यविधि, संघीय र प्रदेश कानून यथाशीघ्र निर्माणका लागि झापाका राजनीतिक दलले सरकार समक्ष माग समेत गरेका छन् । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज झलकसिंह दर्लामी सन्देश, राप्रपाका जिल्ला सचिव केशवप्रसाद ओझा, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेश, नयाँ शक्ति पार्टीका जिल्ला अध्यक्ष कुमार क्षेत्री, संघीय समाजवादी फोरम नेपालकी जिल्ला उपाध्यक्ष संगीता रौनियार, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगर, संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष धनबहादुर पन्धाक सुब्बाले जनप्रतिनिधिलाई साझा भएर जनहितको काम गर्न सुझाव दिएका थिए ।