धरान/हालै पूरानै क्लव एभर्टनमा फर्किएका बेलायती फुटबल कप्तान वाइन रुनीले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् ।

रुनीले सन्यास बारे बुधबार मात्रै औपचारिक रुपमा घोषणा गरेका हुन् । सन् २००३ बाट उनी अष्ट्रेलियासँगको डेब्यु खेल खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बनेका थिए । हालसम्म उनले ११९ वटा खेलमा देशको लागि ५३ गोल गर्दै आफ्नो दर्विलो उपस्थिति देखाइसेका छन् ।
तीन साता अघिसम्म म्यानचेष्टर युनाइटेडमा आवद्ध उनी हालै एभर्टनमा अनुबन्ध भएका हुन् । त्यसो त, उनले आफ्नो खेल जीवनको सुरुवात नै एभर्टनबाट गरेको विदेशी सञ्चारमाध्यमहरु जनाउँछन् । उनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए पनि आफूले एभर्टनको लागि अझै केही वर्ष खेल्ने उद्घोष गरेका छन् ।
२०१८ को विश्वकपको लागि उनलाई पुनः देशले खेल्नको लागि आग्रह गरेको थियो । तर, उनले सोच बिचार गरेर नै आफूले सन्यास लिएको बताएका छन् । त्यसका लागि एभर्टनका म्यानेजर, परिवार र निकट साथीहरुसँग कुरा गरेर नै सन्यास लिएको बेलायती अनलाइन द सनलाई बताएका छन् । उनले भनेका छन्, ‘मैले यो सन्यास मैले एक्लै लिएको होइन्, मैले मेरो परिवार, निटकका साथीहरु र एभर्टनका मेनेजरसँगको सल्लाहमै लिएको हुँ ।’
उनको पहिलो अन्तर्राष्ट्रिय गोल २००३ मा मेसोडोनियाविरुद्ध गरेका थिए । अन्तर्राष्ट्रिय खेलको १४ वर्षे इतिहासमा उनले ७१ वटा खेलहरु जितेका छन् भने २९ वटा बराबरी र १९ वटा खेलमा हार बेहोरेका थिए । उनले जीवनमा दुईपटक रेडकार्ड पाएका थिए । सन् २००६ मा पोर्चुगलसँगको खेलमा रेडकार्ड पाएर मैदान छाडेका थिए भने सन् २०१२ मा मेन्टोनेग्रोविरुद्धको खेलमा रेडकार्ड पाएका थिए । उनको कप्तानीमा २२ वटा खेलहरु खेलिएका छन् ।
उनको पहिलो कप्तानी २००९ मा ब्राजिलविरुद्धको खेलबाट सुरु भएको थियो । उनले १७ वर्ष १११ दिनको उमेरबाट अन्तर्राष्ट्रिय खेलको सुरुवात गरेका थिए । तर, धेरैले उनको निर्णयलाई फिर्ता लिनको लागि आग्रह गर्दै सन् २०१८ मा हुने विश्वकपमा सहभागी हुन आग्रह गरेका छन् । र, धैरै बेलायती फ्यानहरुले विश्वकपपछि मात्रै रुनीले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने दाबी गर्दै आइरहेका छन् । हाल उनी ३१ वर्षका छन् ।