काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्राविधिक कारणले मंसिर १० गतेको लागि तोकिएको प्रदेश र संघीय संसदको निर्वाचन अर्को चरणमा पनि हुन सक्ने बताएका छन् । भौगोलिक अवस्थालाइ हेरेर मात्र निर्वाचन गराउन उपयुक्त हुने भएकोले प्राकृतिक चुनौति आइपरे दोस्रो चरणमा जानैपर्ने उनको धारणा थियो । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले आफूहरुले भौगोलिक अवस्था र निर्वाचनको प्राविधिक तयारीको अवस्थालाई मध्यनजर गरेर मंसिर ४ र २१ गते गरी दुई चरणको निर्वाचनको प्रस्ताव गरेको स्मरण गरे । उनले भने,’अहिलेसम्म निर्वाचन कानून आइसकेको छैन, निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि आइसकेको छैन । हामीलाई निर्वाचनको तयारीको लागि पनि प्रयाप्त समय दिइएको छैन । नियन्त्रण बाहिरको पस्थिति आए निर्वाचन अर्को चरणमा पनि हुन सक्छ ।’ यादवले अहिलेको चुनावमा मतपत्रको ब्यवस्थापन सबैभन्दा ठूलो चुनौति भएको बताए । दुई वटा मतपत्रमार्फत निर्वाचन गराउने तयारीमा आफूहरु रहेको उनले स्पष्ट पारे । यद्यपि उनले राजनीतिक बृत्तबाट बाहिर आए जस्तो चार वटा मतपत्रबाट चुनाव गराउने गरी कानून निर्माण गरे तोकिएको मितिमा निर्वाचन गर्न नसक्ने दावी गरे । उनले भने, ‘हामी अहिले तोकिएकै मितिमा निर्वाचन गर्ने गरी तयारीमा जुटेका छौं । स्थिति प्रतिकुल भए त्यसपछि सोचौंला ।’