विराटनगर/लगातार परेको अविरल वर्षासँगै आएको बाढीका कारण अबरुद्ध भएको विराटनगर विमानस्थल भोलीदेखि सुचारु हुने भएको छ ।
बाढीले बगाएर विमानस्थल भित्र थुपारेको माटोको लेदो एक हप्ता लगाएर सरसफाइ गरेपछि शनिबारदेखि सुरु हुन लागेको हो ।
वर्षासँगै आएको बाढी विराटनगर विमानस्थल भित्र पस्दा एक फिट हिलो जम्मा भएको थियो । काठमाडौंबाट आएको सेनाको स्पेशल टाक्स फोर्स, इटहरी, हिले र विराटनगर विमानस्थलमा रहेको सेनाको टोलीले रनवेमा बाढीले बगाएर ल्याएको माटोको लेदो सफा गरेपछि विमानस्थल सुचारु हुने भएको नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रवक्ता सन्तोष ढकालले जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान बसेको प्राधिकरणको सबै विभागको बैठकले शनिबारदेखि विमान उडाउन विमास्थल तयार हुने निष्कर्ष निकालेको बताए । मोरङको बुढिगंगा गाउँपालिकास्थित केसलिया खोलाले सिंचाईको बाँध भत्काएर विराटनगरमा छिरेको पानीले विमानस्थल पनि जलमग्न भएको थियो । पानी र हिलोका कारण विमानस्थलको रनवे, ट्याक्सीवे, टर्मिनल भवन र सुरक्षानिकायको व्यारेकमा तीनदेखि चार फिटसम्म पानी जमेको थियो ।