भद्रपुर/नेपाल सरकारको केन्द्रको अधिकार स्थानीय तहमा आउने विषयलाई मध्यनजर गर्दै निर्वाचित जनप्रतिनिधिले आफनो क्षेत्रलाई समृद्धि बनाउन चासो देखाएका छन् ।

नेपालको दोस्रो पुरानो भद्रपुर नगरपालिकालाई आउदो दिनमा नगरलाई कस्तो बनाउने भन्ने भावी योजनासहितको तर्जुमाका बारेमा चासो देखाएका हुन् ।  नगरले विहीवार सर्वपक्षीय भेला गराई नगरपालिकाको वृहत्त/एकीकृत शहरी विकास योजना तर्जुमाको विषयमा दीर्घकालीन सोच निर्धारण कार्यशाला गोष्ठी तथा विषयगत छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई नेपाल डेभलपमेन्ट कन्सल्टेन्सी काठमाण्डौले परामर्शदाताको रुपमा भद्रपुर नगरको समग्र अध्ययन गरि नगरपालकिालाई बुझाउने मुख्य उदेश्य रहेको नगरका कार्यकारी अधिकृत काजीमान राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बताए ।

नेपालका नगरपालिका मध्येमा भद्रपुर नगरपनि यो अभियानमा परेकोले नगरमा देखिएका सम्भाव्यताहरुको घनिभुत छलफल गरि निश्कर्षमा पुग्नको लागी कार्यक्रमको आयोजना गरिएको अधिकृत राइले बताए । कार्यक्रलाई कन्सल्टेन्सीका शहरी योजनाकार तथा टोली प्रमुख केदार दाहालले वृत्तचित्र मार्फत हालसम्म भद्रपुर नगरपालिका क्षेत्रको अवस्थाको बारेमा जानकारी गराएका थिए । नगर क्षेत्रमा अध्ययनको उदेश्य विधि,स्थलगत अध्ययन र अवलोकन, स्वास्थ्य,शिक्षा,खानेपानी,जनसंख्या,सडक तथा यातायात, भवन निर्माण तथा बसोबासको अवस्था,पर्यटन,वातावरण,उद्योग तथा व्यापार,सिंचाई,कृषि तथा पशुपालन लगायतको नगरको वस्तुस्थितीका बारेमा दाहालले प्रष्ट पारेका थिए । गत वैशाख २० गते भद्रपुरको लागी पूर्व योजना तयारी कार्यशाला गोष्ठी मार्फत उठेका विषयहरुलाई अध्ययन गरि नगरको खाका तयारी गर्ने काम सुरु गरिएको उनले बताए । कार्यक्रममा कन्सल्टेन्सीका भौगोलिक विशेषज्ञ कृष्ण प्रसाद तिमल्सेना र सिनियर इन्जीनियर चन्द्र झाले  थप प्रकाश पारेका थिए ।

सहभागीको तर्फवाट माओवादी केन्द्रका नेता शिवकुमार राजभण्डारी, बरीष्ठ अधिवक्ता कुल प्रसाद दाहाल,काँग्रेसका नेता गणेश पोखरेल,झापा उद्योग वाणिज्य संघका बरीष्ठ उपाध्यक्ष कालीचरण वस्नेत,झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल लगायतले सुझाव तथा जिज्ञासा राखेका थिए । नगर प्रमुख जीवन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका निर्वाचित जनप्रतिनिधि, नगर कार्यपालिका सदस्य , उद्योगी, व्यवसायी, संघ संस्था,प्राध्यापक,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण नगरपालिकाका इन्जिनीयर योगेन्द्र रञ्जीतकारले गरेका थिए ।