विराटनगर/ विराटनगर महानगरपालिका निर्वाचित जनप्रतिनिधीहरुलाई विज्ञ प्रध्यापक तथा डाक्टरहरुले नगर विकास तथा समृद्धिको लागि योजनासहितको सुझाबहरु दिएका छन् । स्नातकोत्तर क्याम्पस विराटनगरले महानगरबाट निर्वाचित भएका मेयरसहित निर्वाचित १९ वडाकै अध्यक्षहरुलाई शुक्रबार एकै थलोमा राखि महानगर विकासको योजनाहरु विज्ञ टोलीले छुटा–छुट्टै सुझाब दिएका हुन् ।
कार्यक्रममा बोल्दै अर्थविद प्रध्यापक डाक्टर प्रमोदकुमार झाले बन्द भएको घरेलु तथा मझौला उद्योगहरु पुनस्थपना गरि आर्थिक विकासको गतिमा नगर क्षेत्रलाई अगाडी बढाउनुपर्ने बताए । लामो समयदेखि बन्द भएकोे जुट उद्योग देखि धेरै घरेलु उद्योगहरु बन्द रहेको जानकारी दिदै प्रध्यापक डा. झाले भने, ‘यी उद्योगलाई पुनस्थापन गरि वातवरण मैत्री उद्योगको रुपमा स्थापित गराउनुर्पछ ।
’विराटनगर चीन र भारतको ट्रान्जिट प्वइन्ट बन्नसक्ने, राजनीतिक संस्कार बोकेको बौद्धिक व्यक्तित्वहरुको बसोबास रहेको ठाउ भएको भन्दै यसको विकासमा सबै लाग्नुपर्नेमा उनले जोड दिए । माथिबाट भन्दा तलैबाट विकास हुनुपर्ने भन्दै उनले सअघिको केन्द्रीकृत राज्य व्यवस्थाका कारण विराटनगर विकास हुन नसकेको बताए ।
उनले विराटनगरमा आइसीपी निर्माण, विशेष आर्थिक क्षेत्र निर्माणको पहल, शैक्षिक हब, मेडिक पर्यटनको विकास, क्षेत्रीय एयरपोर्टको निर्माण, विराटनगरको रिङ रोड निर्माण, औद्योगिक क्षेत्र निर्माण र एक नम्बर प्रदेशको राजधानी बन्न सक्ने बताए । यद्यपि विराटनगर माहानगरपालिकामा काठमाडौंकै हाराहारिमा कर लगाउने सिष्टम बनाउनु गलत भएको झाले बताए ।
‘विराटनगरलाई माहानगरपालिका बनाउने वित्तिकै काठमाडौंको हैसियतमा हामी छैनौं,’ झाले भने, ‘तर, सरकारले किन कर समान हिसावले लगाएको हो ?, त्यो अवस्थालाई स्थानीय सरकारले तत्काल हटाउनु आवश्यक छ ।
’प्राध्यापक डाक्टर सोम खतिवडाले पर्यंटन र विकासको विषयमा आफ्नो अवधारणा प्रस्तुत गर्दै विराटनगरमा रहेको खोलाहरुको व्यवस्थापन, नहरहरुको व्यवस्थापन, विराट राजाको दरबारको व्यवस्थापन, बाटाघाटाको व्यवस्थापन, हरित नगरको व्यवस्था तथा विभिन्न पुरातात्वीक सांस्कृतिक संग्रहालय निर्माणको लागि माहानगरपालिकालाई आग्रह गरे ।
जनप्रतिनिधिहरुलाई सम्मान तथा प्राज्ञहरुको सुझाव कार्यक्रममा उनले उद्योग र औद्योगिक पर्यटनमा जोड दिँदै पर्यटन बोर्डको कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिए । यस्तै शिक्षाको विकासका लागि प्राध्यापक डाक्टर चक्रपाणी खनालले राजनीतिक दलको प्रतिबद्धता व्यवहारमा लागू गर्ने अवस्था आएको बताए ।
‘राजनीतिक दलले चुनावमा घोषणा गरेका कुरा लागू गरे शैक्षिक विकास सम्भव छ,’ खनालले आफ्नो अवधारणा पत्र प्रस्तुत गर्दै भने, ‘ सरकारले २० प्रतिशत बजेट शिक्षामा छुट्याउन आवश्यक छ ।’विभिन्न १३ बुँदे सुझाव पेश गर्दै खनालले माहानगरका सबै विद्यालयका विद्यार्थीको पोशाक एउटै हुनुपर्ने, विराटनगर माहानगरपालिकाले नमूना विद्यालयको रुपमा विकास गर्नुपर्ने, विद्यालय नजाने बालबालिकाको लागि आवश्यक कार्यक्रम ल्याउनु पर्ने, संस्कार र नैतिकता कार्यसंस्कृतिलाई बढुवा गर्ने खालका पाठ्यसामाग्री निर्माण गरेर लागू गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै विराटनगरका प्रमुख भीम पराजुलीले आगामि पहिलो नगरसभाको छलफलका लागि विज्ञहरुले दिएको सुझाव तथा अवधारणापत्र महत्वपूर्ण हुने बताए । आफूले विराटनगरको विकासका लागि कार्यकालभरी शून्य सहनशिलताको आधारमा काम अघि बढाउने बताउँदै पराजुलीले आवश्य परामर्शका लागि विज्ञहरुको समिति निर्माण गरेर अघि बढ्ने बताए । क्याम्पस प्रमुख डा. मनोज राउतको सभापतित्वमा कार्यक्रम भएको थियो ।