पाँचथर/संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । फिदिममा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले अहिलेको संविधानले नेपालको विविधतालाई सम्बोधन गर्न नसक्ने भएकाले संशोधनको बिकल्प नभएको बताए ।

उनले संसदमा प्रस्तुत संशोधन बिधेयकमाथि अबिलम्ब कारबाही सुरु गर्न समेत माँग गरे । यादवले सात प्रदेशको प्रादेशिक संरचनाले मुलुकमा शान्ति र स्थिरता कायम गर्न नसक्ने पनि ठोकुवा गरे । ‘यहाँको विविधतालाई सम्बोधन नगरी यो संविधानले मुलुकलाई धान्न सक्दैन’ उनले भने ‘अब संशोधनको माध्यमबाट छुटेका कुराहरुलाई सम्बोधन गरिनुपर्छ ।’ चुनाव सम्पन्न भयो, संविधान सर्वस्वीकार्य भयो भन्नु भ्रम भएको यादवको भनाई थियो ।

एक अर्को प्रशंगमा बोल्दै अध्यक्ष यादवले पूर्व प्रधानमन्त्री बाबुराम भटराई नेतृत्वको नयाँ शक्ति सँगको पार्टी एकिकरणको सम्भावना समाप्त भइनसकेको उल्लेख गरे । करीब करीब सबै कुरामा सहमति भए पनि केही कुराहरुमा सहमति जुट्न नसक्दा पार्टी एकिकरण हुन नसकेको उल्लेख गर्दै यादवले नयाँ शक्ति पार्टी रहिरहे कुनै दिन एकिकरण हुन सक्ने बताए ।

संघीय समाजवादी फोरम नेपालको जिल्ला स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागि हुन अध्यक्ष यादव सहित उपाध्यक्ष रकम चेम्जोङ, नेताहरु आरसी तुम्बा, खगेन्द्र माखिम लगायत नेताहरु पाँचथर आइपुगेका हुन् । यसैबीच प्रशिक्षण कार्यक्रम समेत सुरु भएको छ । प्रशिक्षण मंगलबार सम्म चल्ने संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति पाँचथरले जनाएको छ ।