काठमाडौँ/ व्यवस्थापिका–संसद् बैठकमा उप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले “जातीय भेद्भाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन, विधेयक २०७४ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरे । विधेयकको प्रस्तावमाथि धारणा राख्दै सांसदहरु रेवतीरमण भण्डारी, जीतबहादुर दर्जी, भक्तबहादुर विश्वकर्मा, कमला विश्वकर्मा, गंगा सत्गौवा, अफिलाल ओखेडा, कर्णबहादुर थापा, आदित्यनारायण कसौधन, नगेन्द्र कुमाललगायतले छुवाछूत अन्त्यका लागि कानुन बनाउनुका साथै व्यक्तिको सोचमा पनि परिवर्तन ल्याउन आवश्यक रहेको बताएका थिए । विधेयकमा उठेका छलफलमाथि जवाफ दिँदै उपप्रधानमन्त्री गच्छदारले विधेयक जातीय भेद्भावलाई नियन्त्रण गर्ने उद्देश्यले आएको र विभेद् गर्नेलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था रहेको जानकारी गराए। उनले विधेयकले गैरमानवीय व्यवहारलाई नियन्त्रण गरी संविधानको मार्गनिर्देशनलाई आत्मसाथ गरेको धारणा राख्दै विधेयक परिमार्जन गर्ने संभावना छ भन्दै पारित गर्ने प्रक्रियामा अघि बढाउन सहयोगको अपेक्षा गरे ।