पोखरा/कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई इमान्दारिताका साथ बहन गर्ने बताए ।

मन्त्रीमा नियुक्त भएपछि पहिलोपटक आज गृहनगर पोखरा आएका मन्त्री थापाले राजनीतिमा जिम्मेवार एवम् निरन्तरको क्रियाशीलताले अवसर प्राप्त गर्न सकिने उल्लेख गरे । निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारणको गृहकार्य थालेको बताउँदै उनले साविक निर्वाचन क्षेत्र घट्ने अवस्थामा पनि कास्की जिल्लालाई न्यूनतम तीन निर्वाचन क्षेत्रबाट घट्न नदिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली काँग्रेस कास्कीका पूर्वसभापति सोभियतबहादुर अधिकारीले नेपाली काँग्रेसबाट लामो समय जिल्लाले मन्त्री प्राप्त गर्न नसकेका अवस्थामा यस पटक पार्टी केन्द्रले जिल्लाप्रति गरेको विश्वास प्रशंसायोग्य भएको बताए । काँग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले संविधानको कार्यान्वयनका लागि धेरै कानुन बन्नु पर्ने वर्तमान समयमा मन्त्री थापाले पार्टी एवम् देशले नै गर्व गर्न सक्ने किसिमको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, सरस्वती गुरुङलगायतले मन्त्री थापाको सफल कार्यकालको शुभकामना दिएका थिए । मन्त्री थापाले आजै पोखराको चिप्लेढुंगास्थित बिपीको शालिकमा माल्यार्पण गरेका थिए ।