काठमाडौं/ मलेसियाकी एक संसद् सदस्यले पतिलाई सुख दिन अस्वीकार गर्ने महिलाहरूले मानसिक र भावनात्मक अत्याचार गरेको बताएकी छन् । सत्तारूढ गठबन्धनकी सांसद चे मुहम्मद जुल्किफ्लि जुसोले घरेलु हिंसामाथि संसदमा चलिरहेको बहसका दौरान यस्तो बयान दिएकी हुन् । यी ५८ वर्षीया सांसदले यौनसुखबाट पतिलाई वञ्चित गर्नु शारीरिक भन्दा पनि मानसिक अत्याचार भएको बताएकी छन् । उनले भनिन्, ‘पुरुषहरू महिलाभन्दा शारीरिक रूपमा बलियो भएपनि कतिपय मामिलामा पत्नीहरूबाट नराम्ररी प्रताडित भएका हुन्छन् । पतिको यौनइच्छा पूरा गर्न अस्वीकार गर्नु भनेको मानसिक र भावनात्मक अत्याचार हो ।’ महिला अधिकार कार्यकर्ताहरूले उनको यो भनाइको विरोध गरिरहेका छन् । पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदकी छोरी मारिना महाथिरले पनि यसको विरोध गरेकी छन् । उनले भनिन्, ‘कुनै पनि महिलालाई बिहे गर्नेबित्तिकै उनको शरीरमा पतिको साम्राज्य हुँदैन । पत्नीले सेक्स अस्वीकार गर्ने पूरा छुट पाउँछिन् । यसरी अस्वीकार गर्नु पुरुषहरूप्रतिको अत्याचार हो भन्नु बकवास हो ।’
एजेन्सी