भद्रपुर/नेकपा विप्लव समूहमा आवद्ध एक जना कार्यकार्तालाई झापा प्रहरीले पक्राउ गरेको छ । स्थानीय तह निर्वाचन बिथोल्न प्रचारप्रसारमा उत्रिएका विप्लव समूहका झापा जनसम्पर्क प्रमुख सुमन पौडेललाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए । पौडेललाई गएराती विर्तामोड स्थित होटल ओसिनबाट पक्राउ गरेको हो । उनलाई हाल अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको डिएसपी शर्माले बताए । झापामा चुनाव विथोल्ने समूहमा आवद्ध विप्लव र सिके राउत समूहका हालसम्म सात जना कार्यकर्ता पक्राउ परिसकेको प्रहरी कार्यालय झापाले जनाएको छ ।