हङकङ/ चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्को हप्ता हङ्कङ जादै छन् । आगामी हप्ता उनले हङ्कङ भ्रमण गर्न लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शुक्रबार सार्वजनिक गरेका छन् । हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको आगामी हप्ता २० बर्ष पुग्न लागेको छ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लागेका हुन्। यस समाचारलाई सार्वजनिक गरिएको भए पनि उनले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरुले भने केही बताएका छैनन् । उनी सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङ्कङ भ्रमण हो । चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले उहाँको हङ्कङ भ्रमण निश्चित भएको समाचार शुक्रबार छापेको छ । तर सो समाचारमा एकजना सरकारी अधिकारी भनेर दिइएको छ र ती अधिकारीको नाम भने खुलाइएको छैन । त्यसैले पनि उक्त समाचारको विश्वसनीयताको प्रश्न उठाइएको छ । हङ्कङमा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ । सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङ्कङका नागरिकमा यसका कारण निराशा छाएको पनि बताउँदै आइएको छ । यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण नगर्न पनि सक्नेछ भन्ने अनुमानहरु पनि आइरहेका बेला शुक्रबार उक्त चिनियाँ पत्रिकाले सो समाचार सार्वजनिक गरेको छ । प्रदर्शनकारीहरुले हङ्कङ हस्तान्तरण गरिएको समयको अवसर पारेर ठूलो सङ्ख्याका नागरिकले प्रदर्शनको तयारी पनि गरेका छन् । त्यसैले पनि उनको भ्रमणको समयमा ठूलो मात्रामा सुरक्षा दिनुपर्ने अवस्था रहेको पनि विश्लेषकहरु बताउँछन् ।

रासस÷एएफपी