काठमाडौं/थाइल्यान्डका राजामाथि दुई किाशेरले एयर पिस्तोलबाट गोली चलाएपनि उनलाई कुनै चोटपटक नलागको जर्मन अधिकारीहरूले बताएका छन् ।

राजा महा वजिरालोङकोर्न आफ्नो अधिकांश समय जर्मनीमा बिताउँछन् र उनी म्युनिख विमानस्थलनजिक बुधवार राति साइक्लिङ गरिरहेका थिए ।१३ र १४ वर्षका दुई किशोरले अर्डिङ शहरस्थित घरको झ्यालबाट राजामाथि गोली प्रहार गरेका थिए । उनीहरूले हानेको गोली राजालाई लागे नलागेको प्रस्ट छैन तर कोही पनि घाइते चाहिँ भएको छैन । राजा महाले गत वर्ष आफ्ना पिताको देहान्तपछि राजगद्दी सम्हाल्दै आएका छन् । ‘राजा आफैंलाई गोली लागे नलागेको सुनिश्चित छैन,’ स्थानीय सरकारी वकिलको कार्यालयका प्रवक्ता टमस राउसरले बताए । ‘थाहा भएअनुसार राजा साइक्लिस्टहरूको एक समूहमा थिए र त्यही समूहमाथि गोली प्रहार भयो ।’ उक्त समूह राजाको कारमा चढेर गएपछि पनि गोली चलेको उनले बताए । राजाका अंगरक्षकले प्रहरीलाई खबर गरेका थिए । राजाले उजुरी गर्न नमानेपनि १४ वर्षीय बालकमाथि अनुसन्धान भइरहेको छ । अर्का १३ वर्षीय बालकमाथि जर्मन कानूनले कुनै मुद्दा लगाउन मिल्दैन । बीबीसीबाट