काठमाडौं/ उत्तर कोरियामा १५ महिनासम्म कारावास भोगेर अघिल्लो हप्ता अमेरिका ल्याइएका अमेरिकी विद्यार्थी ओट्टो वार्मबायरको सोमवार निधन भएको छ । ओट्टोको परिवारले एक विज्ञप्ति जारी गरेर उनको मृत्यु दिउँसो २ः२० मा भएको जनाए । वार्मबायरका पिताले उनको मृत्यु पुष्टि गरेका छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ओट्टोको मृत्युमाथि शोक प्रकट गर्दै उत्तर कोरियाको क्रूर सत्ताले ओट्टोमाथि ज्यादती गरेको बताए । उनले भने, ‘कुनै पनि परिवारलाई आफ्नो सन्तानको मृत्युभन्दा पीडादायक कुरा अरू केही हुँदैन ।’ ओट्टोलाई कोमामा रहेको अवस्थामा अमेरिका ल्याइएको थियो र तत्कालै सिनसिनाटी अस्पतालमा भर्ना गरिएको थियो । उनी कसरी कोमामा पुगे भन्ने प्रस्ट हुन सकेको छैन । उत्तर कोरियाले ओट्टोलाई बोटुलिजम नामक रोग लागेको र निद्रा लाग्ने औषधि खाएकाले उनी कोमामा पुगेको बताएको थियो । तर सिनसिनाटीका चिकित्सकहरूले उनलाई बोटुलिजम नलागेको र उनको दिमागमा चोटपटक लागेको बताएका थिए । उनीमाथि शारीरिक यातना दिइएको कुनै प्रमाण चाहिँ फेला परेका छैनन् । ओट्टोका पिताले उत्तर कोरियाको यातनाका कारण आफ्नो छोरोको मृत्यु भएको बताएका छन् । भर्जिनिया विश्वविद्यालयका विद्यार्थी ओट्टो गत वर्षको जनवरीमा उत्तर कोरियाको भ्रमणमा थिए । आफू बसेको होटेलबाट एक स्लोगन चोरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई १५ वर्षको कठोर कारावास सजाय सुनाइएको भएपनि उनी कोमामा पुगेपछि ‘मानवीय आधार’ मा थुनामुक्त गरेर अमेरिका पठाइएको थियो । उनलाई उत्तर कोरिया पुयाउने चिनियाँ एजेन्सी योङ पायोनीयरले अबदेखि कुनै पनि अमेरिकीलाई त्यहाँ नलग्ने बताएको छ । बीबीसीबाट