शनिश्चरे/नेकपा एमाले मोरंग २ नम्बर क्षेत्रीय कमिटीले स्थानीय तह निर्वाचनमा पार्टीको नीति विपरित विद्रोही उम्मेदवार बन्ने ३ जना कार्यकर्तामाथि कारबाही गरिने घोषणा गरेको छ । जिल्ला कमिटी सदस्य धनकुमार तामाङ, क्षेत्रीय सल्लाहकार सदस्य रत्नबहादुर बस्नेत र क्रियाशिल सदस्य पथरीशनिश्चरे १० का दीपेन्द्र दहालमाथि ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिने निर्णय माथिल्लो कमिटीबाट समेत अनुमोदन गराइने क्षेत्रीय इञ्चार्ज चण्डीप्रसाद राईले आइतबार घोषणा गरेका छन् । वागी बनेर स्वतन्त्रका रुपमा तामाङ पथरीशनिश्चरे १ को वडाध्यक्ष, बस्नेत वडा नम्बर २ को वडाध्यक्ष र दहाल वडा नम्बर १० को सदस्यका लागि उम्मेदवारी दर्ता गराएपछि सो कारबाहीको घोषणा गरिएको उल्लेख छ । सोही कार्यक्रममाझ एमालेबाट नगरमा उम्मेदवार बनेका ५२ जनाको परिचयात्मक कार्यक्रम गरिएको थियो ।