बर्दिया/ दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनामा जिल्लास्थित अधिकाँश राजनीतिक दलले महिलालाई उपप्रमुख तथा उपाध्यक्ष पदमा मात्र उम्मेदवार बनाएका छन् ।
राष्ट्रिय जनमोर्चाबाहेक अन्य दलले महिलालाई प्रमुख वा अध्यक्ष पदका उम्मेदवार बनाएका छैनन् । जनमोर्चाले बाँसगढी नगरपालिकाको प्रमुखमा निर्मला अर्याल र उपप्रमुखमा तोयनाथ अधिकारीलाई उम्मेदवार बनाएको छ ।
राज्य सञ्चालनको हरेक तह र क्षेत्रमा महिलाको समान सहभागिता र समानुपातिक प्रतिनिधित्व बढाउने प्रतिवद्धता व्यक्त गरेका दलले महिलालाई प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवार बनाउन कञ्जुसाईँ गरेको महिला अधिकारवादीले आरोप लगाएका छन् ।
स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । हरेक पार्टीभित्र सक्षम र नेतृत्व गर्न सक्ने महिला हुँदाहुँदै पनि प्रमुख पदमा महिलालाई उम्मेदवार नबनाउनु दुःखद भएको नागरिक समाजका संयोजक बालकृष्ण वलीले बताए।
छ नगरपालिका र दुई गाउँपालिका भएको बर्दियामा दलले महिलालाई उपप्रमुख, उपाध्यक्ष र केही वडाका अध्यक्षमा मात्र सीमित गरिदिएका छन् । गुलरिया नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसबाट सुशीला गिरी, नेकपा (एमाले)बाट टीका शम्शेली, नेकपा (माओवादी केन्द्र) बाट मोहनकुमारी फुयाँल, राप्रपाबाट प्रभा केसी, फोरम लोकतान्त्रिकबाट चङ्खी चौधरी र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी पुरी उम्मेदवार बनेकी छिन् ।
यसैगरी राजापुर नगरपालिकाको उपप्रमुखमा काँग्रेसबाट तारा चौधरी, एमालेबाट कृष्णी चौधरी, माओवादी केन्द्रबाट मनकला थारु र राप्रपाबाट रामकली थारु उम्मेदवार भएकी छिन् । बारबर्दिया नगरपालिकाकोे उपप्रमुखमा काँग्रेसबाट कोपिला गिरी, एमालेबाट पुष्षा वली, माओवादी केन्द्रबाट अञ्जु दहित, राप्रपाबाट जयन्ती विष्ट र राष्ट्रिय जनमोर्चाबाट सुमित्रा पराजुलीलाई उम्मेदवार बनाउने निर्णय सम्बन्धीत पार्टीको छ ।
त्यस्तै बाँसगढी नगरपालिकाको उपप्रमुखमा काँग्रेसबाट रत्ना थारु, एमालेबाट सुष्मा चौधरी, माओवादी केन्द्रबाट भूमि विक, राप्रपाबाट धनादेवि थापा र राष्ट्रिय जनमोर्चाबाट तोयनाथ अधिकारी (पुरुष)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने मधुवन नगरपालिकाको उपप्रमुखमा काँगेसबाट तुलसा पुन, एमालेबाट हिरा चौधरी, माओवादी केन्द्रबाट शुभरानी थारु र राप्रपाबाट शारदा सिंहलाई उम्मेदवार बनइएको छ ।
ठाकुरबाबा नगरपालिकाको उपप्रमुखका काँग्रेसबाट लीला भाट, एमालेबाट बिना भटराई, माओवादी केन्द्रबाट कृष्णा कुश्मा थारु र राप्रपाबाट अमृता खडका उम्मेदवार बनेका छन् भने गेरुवा गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसबाट हेमा थारु, एमालेबाट मञ्जु शर्मा, माओवादी केन्द्रबाट लीला चौधरी र राप्रपाबाट सरस्वती चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।
यसैगरी बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसबाट भगनदैया थारु, एमालेबाट दीपा गौतम, माओवादी केन्द्रबाट राधा आचार्य र राप्रपाबाट सीता पौडेल उम्मेदवार भएकी छिन् ।
एक सय ५३ मतदानस्थल र ३२४ मतदानकेन्द्र कायम गरिएको बर्दियामा दुई लाख ५३ हजार १८७ मतदाता छन् ।
रोजा र निर्वाचन प्रचार सँगसँगै गुलरिया नगरपालिका वडा नं ६ मा काँग्रेसबाट वडा सदस्य पदका उम्मेदवार मोहम्मद अयुव हलुवाईले व्रत (रोजा) सँगसँगै निर्वाचन प्रचारप्रसारलाई पनि तिव्रता दिएको छ । “व्रतका बेला प्रचारप्रसार गर्न कठिन छ तर पनि लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा होमिएका हौँ,” उनले भने– “जनप्रतिनिधिविहीन स्थानीय तहमा प्रतिनिधि ल्याउन ब्रत बसेरै भए पनि लागि परेको छौं ।”
सोही वडामा काँग्रेसबाट खुला महिला सदस्यका उम्मेदवार रेखा राईनलाई पनि रोजा र निर्वाचन भ्याईनभ्याई छ । दिनभरीको ब्रतमा भोको पेटका कारण बिहानै प्रचारप्रसारमा हिड्नु परेको उनले बताइन् । बीस वर्षको अन्तरालमा हुन लागेको स्थानिय तहको निर्वाचनले ल्याएको उत्साहले सबै थकान भुलाएको उनी बताउ छिन् ।
मुस्लिम महिला भएर खुला पदमा उम्मेदवारी पाएपछि गृहिणीको काम त्यागेर भएपनि प्रचारप्रसारमा हिडेँकी छु, रेखाले भनिन्, “घरको चुलोचौको र वर्ष भरिको परम्परा थाँती राखेर निर्वाचनमा होमिएकी हुँ ।”
निर्वाचन विरोधी गतिविधिमा संलग्न तेह्र पक्राउ आसन्न स्थानीय तहको निर्वाचन बिथोल्न गोप्यरुपमा बैठक गरिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज देवकला अधिकारीसहित १३ जनालाई गुलरियास्थित उद्योग वाणिज्य सङ्घको सभा हलबाट पक्राउ गरेको छ ।
उनीहरुको साथबाट निर्वाचन विरोधी पर्चा पम्प्लेट र चन्दा सङ्कलन गरिने रसिद बरामद गरिएको प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले बताए ।
रासस