शनिश्चरे/लामो समयपछि सिंहदवारकै अधिकार गाउँ गाउँमा लिएर आएको स्थानीय तहको निर्वाचनले समाजका हरेक क्षेत्रका मानिसलाई गजबले छोएको छ । सृजनशिल क्षेत्रका मानिसहरु पनि निर्वाचनमा उम्मेदवार बन्ने क्रममा कला क्षेत्रका सर्जकहरु पनि प्रतिष्पर्धाको त्यस दौडमा सामेल छन् ।
पूर्वमा चर्चा कमाएको हांस्य टेलिश्रृखला ‘दोबाटे’ का निर्देशक एवम् कलाकार हरिन्द्रमान खत्रीलाई शनिवारको आफ्नो सुटिङको समय निकाल्न पनि धौधो परिरहेको छ । उनी मोरङको पथरीशनिश्चरे ९ मा राष्ट्यि प्रजातन्त्र पार्टीका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेदेखि उनलाई कलाकारिता भन्दा पनि राजनीतिमा सक्रिय भएर भोट माग्न भ्याइनभ्याई भएको हो । ‘कलाकारहरुले समाजका हरेक पक्ष केलाइरहेको हुँदा आफ्नो ठाउँको समस्या केलाएर समाधान गर्न सजिलो हुने भएकाले आफु त्यसखाले समाजसेवामा इच्छुक भएर अगाडि बढेको हुँ ।’– ३४ वर्षीय उनले हाँस्दै भने । स्थानीय कञ्चनजंघा नाट्य समूहको नाटकबाट अभिनयको यात्रा सुरु गरेका उनले जिरेखुर्सानी हांस्य टेलिश्रृंखाला हुँदै विगत १५ वर्षदेखि विभिन्न टेलिश्रृंखलामा काम गरिसकेका छन् ।
उता, चलचित्र निर्देशक दुर्गा नेम्वाङ पनि असार १४ मा हुने स्थानीय निर्वाचनमा वडाध्यक्षकै उम्मेदवार बनेका छन् । झापाको शिवसताक्षी १ घर भएका नेम्वाङ सोही वडाबाट माओवादी केन्द्रमार्फत वडाध्यक्षको उम्मेदवार बनेर भोट माग्न तल्लिन छन् । राजधानी काठमाडौंमा बसेर चलचित्र कर्म गर्दै आएका उनी माओवादी निकट लिम्बू कलाकार संघका सचिव हुन् । विगत १८ वर्षदेखि चलचित्रमा होमिएका व्यक्ति हुन् । नेम्वाङको लामो समयदेखिको राजनीतिक सक्रियता नभएपनि आफुलाई सामाजिक र राजनीतिक गतिविधिमा अव सक्रिय बनाउँने भन्दै विगत ३ महिनादेखि गाउँमा आएर निरन्तर सामाजिक काम र राजनीतिक चाजोपाँजोमा व्यस्त छन् । ‘चलचित्रमा धेरै काम गरियो अब राजनीतिमा पनि अनुभव बटुल्न मन लाग्यो’, ४२ वर्षीय नेम्वाङ भन्छन्न्,‘गाउँलेले पत्याए भने कसो नजितिएला त ? ।’
धरमपुर–पाराबारी सडक, धरमपुर–लक्ष्मीनारायण सडक, कमल खोलामा तटवन्धन निर्माण, विद्युत पोलदेखि ट्रान्सफर्मर राख्नेलगायतका गतिविधिमा उनी सक्रिय बनेका छन् । धरमपुरको प्रस्तावित फुलबारी रंगशाला, धरमपुर बजार व्यवस्थापनलगायतका विकास निर्माणमा सक्रियता देखाउँदै आफुले यसैगरी निरन्तर समाजसेवा गर्ने वताएका छन् ।
नेम्वाङ किरात मिथकमा आधारित चर्चामा रहेको नेपाली चलचित्र ‘खाप्पुना मुरङना’का निर्देशक हुन् । उनले दर्जनौं फिल्मको सहनिर्देशन, मुख्य सहायक निर्देशन गरिसकेका छन् । आमाको काख, लभ इन चाइना बोर्डर, एउटै भूल, क्याविन गर्ल, जय माँ सतासी, रातो बर्की, छालुम्मालगायतका चलचित्रमा सहनिर्देशन गरेका छन् । नेम्वाङले गतवर्ष एक भारतीय चलचित्रमा समेत काम गर्ने अवसर पाएका थिए । उक्त चलचित्र चाँडै रिलिज हुँदैछ ।
त्यसैगरी, नाट्यकलामा सक्रिय दक्षिणी इलामको चुलाचुलीका ३० वर्षीय चेतन आङ्थुपो ‘डर’ पनि वडाध्यक्षको उम्मेदवार बनेर निर्वाचनको मैदानमा प्रतिष्पर्धामा छन् । कुमार लिङ्देन निकट संघीय लोकतान्त्रिक राष्ट्यि मञ्च पक्षका उनी सो मञ्च र राष्ट्यि जनमुक्ति पार्टीको सहकार्यमा चुलाचुली ४ मा घर चुनाव चिन्हका लागि वडाध्यक्षका उम्मेदवार बनेका हुन् । डेढ दशकदेखि रंगमञ्चमा सक्रिय र पत्रकारितामा र साहित्यमा समेत सामेल उनी इलामले नदेखेको र झापाले हेपेको चुलाचुलीको विकासका लागि राजनीतिमा समेत सक्रिय हुन आवश्यक देखेर उम्मेदवार बनेको बताउँछन् । भौगोलिक विकटताका कारण विकास निर्माणमा समेत सम्बन्धित निकायको ध्यान जान नसकेको हेपिएको क्षेत्रको चौतर्फी उत्थानका लागि आफु लागि पर्ने उनको भनाई छ । सामाजिक सचेतना र रंगकर्मको विकासमा क्रियाशिल चुलाचुली रंगमञ्चका उनी अगुवा हुन् । गाउँमा पुस्तकालय अभियान सञ्चालन गर्नेमा पनि उनी अगुवा नै हुन् । उता, झापा गाउँपालिका अध्यक्षमा ‘मुट माग्यौ तिमीले, मैले बाँच्नु पर्छ’ सहित चर्चित गीत लेखेका गीतकार गजेन्द्र ताम्लिङ उम्मेदवार बनेका छन् । एमालेबाट उम्मेदवार बनेका उनी भलिबल र फुटबलका खेलाडी समेत हुन् ।