कालेबुङ/दार्जिलिङमा प्रहरीको गोली लागि गोर्खा जनमुक्ति मोर्चाका दुई कार्यकर्ताको मृत्यु भएको छ। दार्जिलिङको सिंहमारीमा प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो।
सिंहमारीमा प्रहरीले धेरै राउण्ड गोली चलाएको थियो। मृत्यु भएका व्यक्तिलाई सेन्ट जोसेफ कलेजअगाडि गोली लागेको थियो। उनको शवलाई सैनिक अस्पतालमा राखिएको छ।
उता घुम भञ्ज्याङमा पनि प्रहरीले गोली चलाएको छ। त्यहाँ मोर्चा कार्यकर्ता घाइते भएका छन्। कति जना घाइते भएका हुन्, संख्या एकीन हुन सकेको छैन।
घुमभञ्ज्याङमा एक मोर्चा कार्यकर्ताको ज्यान गएको बताइएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ।
मोर्चा महासचिव विनय तामाङले आफ्ना धेरै जना कार्यकर्ता प्रहरीको गोली लागी घाइते भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए।
पातलेबास गएरहेका मोर्चा समर्थकहरुलाई रोक्न प्रहरीले अश्रुग्यास र गोली प्रहार गरेको थियो।
मोर्चा कार्यकर्ताको मृत्युपछि मोर्चासमर्थक अझ आक्रोशित बनेको छ। आक्रोशित मोर्चा कार्यकर्ताले हालसम्म चारवटा गाडीमा आगजनी गरेका छन्। जसमा सेनाको एउटा बाहन पनि रहेको छ।
मोर्चा सहसचिव विनय तामाङले यो घटनाको निन्दा गर्दै पुलिसले मोर्चाको आन्दोलन दबाउन आन्दोलनकारीहरूलाई गोली हानेर हत्या गरेको आरोप लगाएका छन्।
पश्चिम बंगाल सरकारले नेपालीभाषी क्षेत्रका विद्यालयमा बंगला भाषाको पठनपाठन अनिवार्य गरेपछि सुरु भएको आन्दोलन केही दिनयता हिंसात्मक बन्दै गएको छ।
सरकारको सो कदमको विरुद्ध मोर्चाले अनिश्चितकालिन दार्जिलिङ बन्द आह्वान गरेको छ।
नेपालखबर