एउटै सहकारीका २८ जना चुनावमा उम्मेद्वार
दमक/झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।
संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको यो देशकै पहिलो हुन सक्ने सहकारीको दाबी छ ।
संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेका अनुसार नेकपा (एमाले)का तर्फबाट दमक नगरपालिकाको प्रमुखमा संस्थाका अध्यक्ष रोमनाथ ओली उम्मेदवार बनेका छन् भने सोही संस्थाकै सञ्चालक सदस्य गीता अधिकारी पनि एमालबाटै नगर उपप्रमुखको उम्मेदवार बनाइएको छ ।
त्यस्तै, ६ जना सदस्य विभिन्न पार्टीबाट वडाध्यक्षको उम्मेदवार बनेका छन् । राजनीतिक दलमध्ये एमालेबाट १६, नेपाली काँग्रेसबाट आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तीन, माओवादी केन्द्रबाट एकजना उम्मेदवार बन्नुभएको सो सहकारीका व्यवस्थापक बगाले बताउछन् ।
संस्थाका सञ्चालक समितिका कोषाध्यक्ष लक्ष्मी दाहाल दमक–६ को वडा सदस्य र धितो मूल्याङ्कन उपसमितिका संयोजक टेकबहादुर थापा र दमक–६ को वडाध्यक्षका उम्मेदवार बन्नुभएको छ भने सञ्चालक समितिसँगै उपससमितिमा रहेका धेरैले वडा तहमा विभिन्न दलका तर्फबाट उम्मेदवारी दिएको उनले बताए । विसं. २०५४मा स्थापित उक्त सहकारीमा दुई हजार ७६८ सदस्य आबद्ध छन् । रासस