राजविराज/सप्तरीको उत्तरी क्षेत्रको लालपताबाट प्रहरीले चोरी भएको आठ थान मोबाइलसहित दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–७ बस्ने २४ वर्षीय राजेश विश्वकर्मा र सोही नगरपालिका–११ पात्ले निवासी १६ वर्षीय सुरज विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–२ मा निर्माण भइरहेको बाँध बाध्न आएका मजदुरको मोबाइल र पैसा चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय भेडियामा जानकारी आएपछि सो कार्यालयबाट खटिएको प्रहरीको टोलीले खोजी गर्ने क्रममा उदयपुर त्रियुगा नगरपालिका–६ आकाश गङ्गा होटलबाट ती दुवै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती बताए । पक्राउ परेका उनीहरुको साथबाट विभिन्न कम्पनीका आठ थान मोबाइल, नगद रु १० हजार ६०० र तीन पोका गाँजासमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक उप्रेतीले जानकारी दिए । रासस