काठमाडौं/ नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको मिति तोकेर पनि संसद्ले प्रधानमन्त्री निर्वाचित गर्न नसकि संसद्को बैठक स्थगित भएसँगै यो नेपाल संसदीय इतिहासकै दुर्लभ घटना भएको छ । नेपालको ४० औं प्रधानमन्त्री चयनका लागि आइतवार संसद्मा मतदान गर्ने तयारी थियो ।

प्रधानमन्त्री निर्वाचनको मिति तोकेर पनि प्रधानमन्त्री निर्वाचित नभएको यो पहिलो घटना भएको संसद् सचिवालयका एक उच्च अधिकारीले बताए । ‘संसद्को बैठकमा सूचना नदिइ प्रधामनन्त्रीको कार्यतालिका प्रकाशित भएको पनि यो पहिलो घटना हो, मिति तोकेर पनि संसद्ले प्रधानमन्त्री निर्वाचन गर्न नसकेको पनि यो दुर्लभ घटना हो’ ती अधिकारीले  भने ।

आइतवार बिहान ११ बजेका लागि प्रधानमन्त्री निर्वाचनको समय तोकिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद् बैठक अबरुद्ध गर्ने अडानका कारण ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको थियो ।

दिउँसोको लागि बोलाएको बैठक समेत अबरुद्ध गर्ने नेकपा एमालेको चेतावनीपछि संसद्को बैठक मंगलवार एक बजेसम्मका लागि स्थगित भएको छ । संसद्को बैठकमा निर्वाचनको मिति नतोकि निर्वाचन कार्यतालिका प्रकाशित गरिएपछि एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया नै अबैध भएको बताउँदै आएको छ ।

आइतवार नै प्रधानमन्त्री निर्वाचित गर्ने भन्दै कांग्रेस र माओवादी केन्द्रले संसद्को बैठकमा अनिवार्य उपस्थितीका लागि सांसद्हरुलाई ह्वीप जारी गरेका थिए । कतिपय सांसदले नवनिर्वाचित प्रधानमन्त्रीलाई लगाउन झोलामा माला र खादा ल्याएका थिए ।

प्रधानमन्त्रीय निर्वाचनका एक्ला उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवा आइतबार विहान ११ नवज्दै हसिलो मुद्रामा संसद भवन पुगेका थिए । तर, एमालेको संसद चल्न नदिने अडानका कारण उनी प्रधानमन्त्री निर्वाचित हुन पाएनन् ।

प्रधानमन्त्रीको निर्वाचन स्थगित भएपछि कांग्रेस नेताहरुसमेत निराश मुद्रामा संसदबाट बाहिरिएका थिए ।

लाेकान्तरबाट