एजेन्सी/ बेलायतको राजधानी लन्डनमा शनिवार राति भएको आक्रमणमा सातजनाको मृत्यु भएको छ । लन्डन ब्रिजमा हिँडिरहेका पैदलयात्रुमाथि तीनजनाले भ्यान जोतेर अनि त्यसपछि रेस्टुराँमा रमाइलो गरिरहेका मानिसलाई छुरा घोपेर हत्या गरेका हुन् ।

प्रहरीले यसलाई आतंकवादी आक्रमण घोषणा गरेको छ । एउटा सेतो भ्यानले लन्डन ब्रिजमा कैयौं मानिसलाई आक्रमण गरेको खबर आएपछि सशस्त्र प्रहरी र एम्बुलेन्स बोलाइएका थिए । उक्त क्षेत्र र नजिकैका रेलवे स्टेसनहरू बन्द गरिएका थिए । भ्यान सडकपेटीमा चढेर कैयौं मानिसहरूसँग ठोकिन पुगेको थियो । पाँचदेखि ६ मानिसलाई यसरी भ्यानले हिर्काएको थियो । त्यसपछि त्यो भ्यान नजिकैको बोरो मार्केटतिर गयो । त्यहाँ तीनजना आरोपितहरू बाहिर निस्के र भीडमा पसेर मानिसहरूलाई जथाभावी छुराले हान्न थाले । पबमा बसिरहेका मानिसलाई आक्रमणकारीले तारो बनाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । एक प्रत्यक्षदर्शी गेरार्डले बीबीसीलाई बताए, ‘उनीहरू दौडिँदै यो अल्लाहका लागि हो भन्दै थिए । उनीहरूले एक किशोरीलाई दशदेखि १५ चोटिसम्म छुरा हाने । आफूले उनीहरूतर्फ बोतल, कुर्सी र अरू कुरा फ्याँकेर रोक्ने कोशिश गरेको उनले बताए । मेट्रोपोलिटन प्रहरीले सातजनाको मृत्यु भएको पुष्टि गरेको छ भने ४८ जनालाई अस्पतालमा उपचार गराइरहेको बतायो ।तीन आरोपितहरूलाई प्रहरीले खबर पाएको आठ मिनेटभित्र गोली प्रहार गरी मारेको थियो ।एक प्रहरी अधिकारी यस क्रममा घाइते भएको बेलायती ट्रान्सपोर्ट प्रहरीले जानकारी दियो । आक्रमणमा परी दुई फ्रान्सेली नागरिक र दुई अस्ट्रेलियाली नागरिक घाइते भएको उक्त देशका अधिकारीहरूले बताएका छन् । उक्त घटनाको विश्वव्यापी रूपमा निन्दा भएको छ । प्रधानमन्त्री टेरिजा मे ले सरकारको कोब्रा आपतकालीन बैठकको अध्यक्षता गरिरहेकी छन् ।

बीबीसीबाट