भक्तपुर/कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले बुहमतीय प्रणालीबाट नयाँ सरकार गठनका बेला यसलाई अवरुद्ध गर्ने गरी नेकपा(एमाले)ले संसद् अवरुद्ध गर्नु गलत भएको बताए ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री चयन प्रक्रिया नै प्रभावित बनाउन खोज्नु ठीक नभएको बताउँदै उनले भने , ‘प्रतिपक्ष दल एमालेले यसरी नै संसद् अवरुद्ध गर्ने हो र प्रधानमन्त्री चयनमा ढिलाइ हुने हो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचनसमेत प्रभावित हुन्छ, यसतर्फ धयान दिनु जरुरी छ ।’ भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई एमालेले स्वीकारेर अगाडि जानुको विकल्प नभएको उनको भनाइ छ । मन्त्री नायकले भने, “स्वतन्त्र र अधिकार प्राप्त आयोगमाथि नै हस्तक्षेप गर्दै एमालेले आयोगको निर्णय मान्दिन भन्नु र संसद् अवरुद्ध गर्नु लगायत गतिविधि अघि बढाउनु सकारात्मक होइन, एमालेले गरेको विरोध अर्थहीन छ ।” विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यातेर पुनः मतदान गर्नुपरेको जिकिर गर्दै उनले अहिले पनि भरतपुरमा हुने पुनः मतदानमा शङ्का गर्न नहुने बताए । रासस