चितवन/ भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या टुंगो लागेको छ ।
बिहीबार निर्वाचन आयोग, दलका प्रतिनिधि, सुरक्षा निकायको उपस्थितिमा गणना गरिएको मतको संख्या ९० पाइएको हो ।
च्यातिएको मतको गणनासकिएसँगै दलका प्रतिनिधिहरुले आफ्नो खालको व्याख्या गरेका छन् । एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले च्यातिएको मत गणना बारे जानकारी दिए । उनले केही मतपत्र दुई टुक्रा मात्र भएका कारण त्यसलाई जोडेर मत गणना गर्न मिल्ने खालका पाइएको भन्दै मत गणना गर्नुको विकल्प नभएको बताए ।
उनले भने,‘ आयोगले मतपत्र च्यात्नेहरुलाई नजिर बनाउँन सक्दैन, तराईमा हार्नेले मत पत्र च्याते के हुन्छ ? ’ उनले भने,‘आशा छ आयोगले त्यस्तो गल्ती गर्दैन ।’
तर, माओवादी र नेपाली कांग्रेसले भने धेरै संख्यामा मतपत्र च्यातिएको भन्दै पुन मतदानको विकल्प नभएको बताए ।
गठबन्धन तर्फबाट उपमेयरकी उम्मेदवार पार्वती शाहले ९० मत बदर भएका कारण पुनः मतगणना गर्न नसकिने बताइन् । उनले भनिन्,‘एक दुई मतले हार जीत हुन्छ, यहाँ त ९० मत च्यातिएको छ कसरी मत गणना गर्न मिल्छ ?’
अब मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले त्यहाँको अवस्थाबारेको जानकारी निर्वाचन आयोगलाई पठाउने छन् । र, त्यससँगै आयोगले निर्णय गर्नेछ ।