बेलायतको म्यानचेष्टर सहरमा सोमबार साँझ आयोजित सङ्गीतमय सन्ध्या भईरहेको स्थानमा भएको हिंसात्मक हमलाको विरुद्धमा विश्वभरका नेताहरुले ऐक्वबद्धता जनाएका छन् ।

सो सन्ध्याको अन्त्यमा अमेरिकी गायिका एरियाना ग्रान्डेले आफ्नो प्रस्तुती गरिरहेका अवस्थामा भएको आतङ्कककारी हमलामा परी मृत्यु हुनेहरुको सङ्ख्या २२ पुगेको छ ।

प्रारम्भिक समाचारमा यस घटनामा परी मृत्यु हुने व्यक्तिको १९ भएको बताइएता पनि घाइते भएका व्यक्तिमध्ये केहीको मृत्यु भएपछि सो सङ्ख्या २२ पुगेको हो ।

बेलायतका प्रधानमन्त्री टेरेसा मेले यो अत्यन्त डरलाग्दो आतङ्ककारी आक्रमण भएको बताउनु हुँदै यस घटनाबाट नआत्तिन र सम्हालिन आह्वान गरेका छन्। उनले दोषीहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासन लागि परेका पनि उनले जानकारी दिए ।

चीनका राष्ट्रपति सि जिनपिङले मङ्गलबार भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्दै बेलायतकी महारानी एलिजावेथ द्धितियालाई समवेदना सन्देश पठाएका थिए । सन्देशमा राष्ट्रपति सिले गहिरो समवेदना व्यक्त गर्नुका साथै मृतक प्रति श्रद्धाञ्जलि अपर्ण गरेका छन्।

त्यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभत्स हत्याको निन्दा गरेका छन् । उनले यस दुखद् घडीमा बेलायत र बेलायती जनताको साथमा आफू रहेको रहेको बताए ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आतङकबाद विरुद्धको सहकार्यलाई अझ बढाउन आवश्यक भएकोमा जोड दिए ।

बेलायतको म्यान्चेष्टरमा भएको आक्रमणको विरोधमा एक सन्देश प्रकाशित गरी राष्ट्रपति पुटिनले अमानवीय अपराध गर्नेहरु अक्षम्य हुने बताए। उनले आतङ्कबाद विरुद्ध लड्नका लागि आवश्यक सहयोग र सहकार्य बढाउन आपूm तयार रहेको पनि स्पष्ट पारे ।

श्रीलङ्काको विदेश मन्त्रालयका प्रवक्ता महीशिनी कोलोनेले म्यान्चेष्टरमा भएको आक्रमणबाट श्रीलङका दुखी भएको बताए । उनले अतिकठोर घटनाबाट पीडितप्रति आफ्नो सरकारको सहानुभूति रहेको पनि ट्विटरमा लेखेका छन् ।

त्यसैगरी सिंगापुरको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा निर्दोष मानिसमाथी भएको अमानवीय हमलाको भ्रत्सर्ना गरिएको छ । मृतकप्रति गहिरो श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

इजिप्ट सरकारले म्यान्चेष्टरमा भएको आक्रमणलाई आतङ्ककारी आक्रमण भन्दै आक्रमणकारीको कडा आलोचना गरेको छ । इजिप्टको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आतङ्कबाद विरुद्ध लड्न आफू सधै बेलायत सरकारसँग सहकार्य गर्न तयार रहेको स्मरण गराइएको छ ।

अतिवादी र आतङबादीबाट जनतालाई बचाउन इजिप्ट सरकार जस्तो सुकै कार्यका लागि पनि तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

म्यान्चेष्टरमा विस्फोटन हुँदा भवन हल्लिएको र अनौठो हावामा उडेको एक जना प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । घटनास्थल क्षेत्रलाई घेराबन्दी गरिएको छ भने नजिकै रहेको मुख्य रेल स्टेशनको सम्पूर्ण सेवा अवरुद्ध भएको छ ।

घटनापछि कैयौँ प्रत्यक्षदर्शी अताल्लीएका छन् भने अन्य व्यक्ति पनि त्रसित भएको पाइएको छ ।

रासस÷एएफपी÷सिन्ह्वा