धरान/धरानको तिनकुने चेकपोष्टबाट एकजनालाई लागूऔषधसहित धरान प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । डेल्टा अप्रेशनमा खटिएका प्रहरी टोलीले चेकजाँच गर्दा मोरङ विराटनगर–२१ का २४ वर्षीय दीपक सहनीलाई पक्राउ गरेको हो ।

उनको साथबाट कालो प्लाष्टिकको झोलामा लुकाईको अवस्थामा १६ बोतल कोरेक्स फेला परेको हो । १०० एमएलको कोरेक्सको बोतल फेला परेको थियो । उनी धरानतर्फ यात्रुबाहक बसमा आउँदै गरेका थिए । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै जर्वजस्ती करणी मुद्दामा सजाय पाएका फरार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धरान–१० का लालु भनिने ललित राईलाई पक्राउ गरिएको हो । उनलाई सम्मानित जिल्ला अदालतले २०४७ असोज ५ गते ३ वर्ष कैद फैसला सुनाएको थियो । त्यसपछि उनी फरार थिए । उनलाई धरान–१० मा लुकिछिपी बसेको अवस्थामा इप्रका धरानको टोलीले पक्राउ गरी आइतबार जिल्ला अदालतमा पेश गरेको छ ।