भद्रपुर/छिटो विद्युत मिटर जडान गरिदिने भन्दै ग्राहकवाट पाँच हजार रुपैया घुससहित विद्युतका एक कर्मचारीलाई अख्तियारको कर्मचारी टोलीले नियन्त्रणमा लिएको छ । नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका मिटर रिडिङ्गको रुपमा ज्यालादारीमा काम गर्दै आएका भद्रपुर नगरपालिका ७ का ३९वर्षिय राम बहादुर महतलाई अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले नियन्त्रणमा लिएको हो । महतले भद्रपुर १० स्थित चन्द्रगढी बजारमा रहेका एक सेवाग्राहीलाई मिटर छिटो जडान गरिदिन्छु भन्दै रकम लिनेवित्तिकै पक्राउ गरिएको अख्तियार कार्यालयका प्रवक्ता रमेश वस्नेतले जनाएका छन् । अख्तियारका टोलीप्रमुख इन्सपेक्टर ओम खनालको नेतृत्वमा गएको टोलीले महतलाई रकमसहित शुक्रवार दिउँसो पक्राउ गरिएको वस्नेतको भनाई छ । अनुसन्धानपश्चात महतलाई विशेष अदालत पठाइने उनले जानकारी दिए । ठेक्कामा मिटररिडिङ् गर्दै आएका महतलाई अख्तियारको टोलीले पक्राउ गरेको भद्रपुर वितरण केन्द्रका केन्द्र प्रमुख रोशन खड्काले स्विकार गरेका छन् । महत यस भन्दा अघि पनि विभिन्न सेवाग्राहीवाट अवैध रकम असुलेको प्रमाणसहित ग्राहक कार्यालयमा आएपछि घट्नालाई साम्य बनाएको विद्युत कर्मचारी बताउँछन् । महतले यो भन्दा अघि पनि गल्ति गरेपछि दुवैपक्ष बसेर मिलाएका थिए फेरी परेछ, एक कर्मचारीले बताए ।