शनिश्चरे, मोरङ/नेपाली कांग्रेसकातर्फबाट मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख पदका उम्मेदवार गणेश खड्काले आफु विरुद्ध मानहानी हुने प्रकारका अभिव्यक्ति नदिन पार्टीको अगुवा तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रको नीति बमोजिम सिंगो क्षेत्रीय समितिको बैठकबाट उम्मेदवारको सिफारिस गरेको जिकिर गर्दै खड्काले आफु विरुद्ध अनर्गल प्रचारवाजी गरी मानहानी नगर्न आग्रह गरेका हुन् । उनले विहीबार नगरका उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यक्रममा समेत आफुमाथि मानहानी गर्ने हिसावले गतिविधि भएको र सो कुरा सञ्चारमाध्यममा आएकाले आफुलाई असहज बनाउँदै मानसिक तनाव सिर्जना गरेको उल्लेख गरेका छन् । आफु २ नम्बर क्षेत्रीय सभापतिको हैसियतमा समेत रहेको अवस्था भएपनि पार्टीको क्षेत्रीय समिति वैठकले विधिसम्बत रुपमा नगरप्रमुखको उम्मेदवार सिफारिस भएको उल्लेख गरे । सो अवस्थामा पार्टीका अग्रज तथा सहकर्मीहरुबाट समेत आफुमाथि अनर्गल प्रचारबाजी गरी मानहानी गर्ने काम भएको भन्दै त्यसखाले गतिविधि नगर्न अनुरोध सहितको आग्रह गरेका छन् । । ‘प्रमुखको पदमा धेरैजना आकांक्षीको बीचबाट कोही न कोहीलाई त छान्नै पर्ने थियो । तर आफु परिन र आफ्नो पक्षको मान्छे परेन भनेर विरोध गर्दै मलाई मानसिक तनाव दिनु निन्दनीय काम हो ।’– उनले शुक्रबार ब्लाष्टसँगको कुराकारीमा भने । पार्टीका महासमिति सदस्य सहितका पार्टीका केही अग्रजहरुले समेत क्षेत्रीय सभापतिले नै आफैंलाई नगरप्रमुखको उम्मेदवार घोषणा गर्नु गलत भएको भन्दै हिड्नु तुकसँगत कुरा नभएको तथा कांग्रसलाई नै हानी पुर्याउने काम भएको खड्काको टिप्पणी छ । पार्टीले बनाएको उम्मेदवार छनौट संयन्त्रका उपसभापति रणसिंह राइले सहमति नजनाएको तथा उम्मेदवारका आकांक्षीसँग दोहोरो छलफल नै नगरी क्षेत्रीय समितिले एकलौटी रुपमा क्षेत्रीय सभापति खड्कालाई उम्मेदवार चयन गरेको असन्तुष्ठ पक्षको आरोप छ । प्रमुखको उम्मेदवारका दावेदार माधव कोइराला, पर्शुराम कार्की, नरेन्द्र सुब्बा, डिल्लीदेव ढुंगेल र पार्टीको पूर्वमहाधिवेशन प्रतिनिधि केशवप्रसाद दुलालले जनाएको असन्तुष्ठि पूर्वाग्रही मात्र रहेको खड्काको टिप्पणी छ ।