काठमाडौं/ कतारमा निर्माणाधिन भवन भत्किंदा नेपाली सहितका कामदारको मृत्यु भएको छ । दोहाबाट झण्डै १५ किलोमिटर उत्तरको उम्सलाल अलिमा रहेको सेनाको भवन मंगलबार राती भत्किंदा नेपाली सहित तीन जनाको ज्यान गएको कतारको रक्षा मन्त्रालयले वक्तव्य मार्फत जानकारी गराएको हो ।

दोहा न्युजले तीन जनाको ज्यान गएको जनाएको छ । कतार स्थित नेपाली दूतावासले भने एक नेपालीको ज्यान गएको र एक जना घाइते भएको जनाएको छ । दूतावासका अनुसार चिनक मल्लाहको मृत्यु भएको र गंगाराम चौधरी घाइते भएका हुन् । तर वक्तव्यमा भने कति नेपाली परे भन्ने उल्लेख गरिएको छैन । दुर्घटनामा इन्डियन र फिलिपिनो कामदार बढि परेको जनाइएको छ । उनीहरुको उपचार भैरहेको र मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिने रक्षा मन्त्रालयले जनाएको छ । अलबन्दरी कन्स्ट्रक्सन कम्पनीमा कार्यरत नेपाली सहितका कामदार दुर्घटनामा परेका हुन् । यो कम्पनीमा धेरै नेपाली कार्यरत रहेको मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधि रमजान अलि मियाँले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण अझै आउन सकेको छैन ।