धरान/पहिलो चरण निर्वाचन सम्पन्न भएको ३४ जिल्लाको मतपरिणाम धमाधम आइरहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले ३५ स्थानमा चुनाव जित्दै पहिलो नम्बरमा छ । नेपाली कांग्रेस ३१ स्थानमा चुनाव जित्दै दोस्रो नम्बरमा रहेको छ । त्यस्तै माओवादी केन्द्र २० स्थानमा विजय हासिल गरेको छ । पहिलो चरण अन्तर्गत ३, ४ र ६ नम्बर प्रदेशको २८३ गाउँपालिका र नगरपालिका मध्येमा हाल मतगणना भएको क्षेत्रहरुमा पनि एमालेले नै अग्रता कायम गरिरहेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेले अझै पनि ७४ स्थानमा अग्रता कायम गरिरहेको हो भने कांग्रेसले ६० स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै माओवादी केन्द्र भने २२ स्थानमा अग्रता कायम गरेको छ । अहिलेसम्म राप्रपा र फोरम–नयाँशक्तिले मूख्य पदहरुमा खाता खोल्न सकेको छैन् । यता स्वतन्त्रबाट ३ स्थानबाट विजय हासिल गरिसकेको अवस्थामा छ । अग्रताको हिसावले राप्रपाले कुनै पनि ठाउँमा अग्रता कायम गरेको छैन भने फोरम–नयाँ शक्तिले २ स्थानमा र स्वतन्त्रबाट ३ स्थानमा अग्रता कायम गरेको छ । चुनावी मतपरिणामहरु आइरहेका छन् । तर, सर्वाधिक चासो रहेको काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकामा भने एमालेको उम्मेद्वारले नै अग्रता कायम गरिरहेको छ ।