काठमाडौं /चितवनको भरतपुर महानगरपालिकामा मतगणना अझै अनिश्चित छ । सर्वदलीय बैठकले सहमति जुटाउन नसक्दा मतगणना अनिश्चित बनेको हो ।
अपरान्ह ३ बजेदेखि बसिरेको सर्वदलीय बैठक अझै जारी छ । आइतबार साँझ मतदान सर्किपछि उठाइएको मुचुल्का अनुसार मतपत्र मिले त्यसलाई स्वीकार्ने नत्र बहिष्कार गर्ने दलहरुको अडान र निर्वाचन प्रतिनिधिले केही भोट तलमाथि भए पनि त्यसलाई नै मान्यता दिनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमती जुट्न सकेको छैन ।
यसैबीच, तत्काल मतगणनाको माग गर्दै सुरु भएको नाराबाजी भने पानी परेपछि तितरवितर भएको छ ।
भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयरमा उठेकी छन् । दाहाललाई कांग्रेसले सहयोग गरेको छ ।
एमालेबाट मेयरको उमेदवारमा देवी ज्ञवाली उठेका छन् भने राप्रपाबाट बद्री तिमल्सेनाले उमेदवारी दिएका छन् । भरतपुर महानगरपालिकामा दाहाल र ज्ञवालीबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
बाह्रखरीबाट