
काठमाडौं/ नयाँ संविधान जारी भएपछि पहिलोपटक आज स्थानीय तह निर्वाचन अन्तर्गत मतदान हुँदैछ । संविधान र संघीयता कार्यान्वयनको महत्वपूर्ण कडीको रुपमा लिइएको यो निर्वाचनमा प्राविधिक व्यवस्थापन भने फितलो देखिएको छ ।
खासगरी मतपत्रको साइज (आकार) र मतपत्रमा उल्लेख गरिएका चुनावचिह्नले मतदाताहरु झुक्किएका छन् ।
मतपत्रको साइज धेरै ठूलो हुँदा पनि चुनावचिह्नको अकार भने सानो छ । जसले मतदान गर्न धेरै असहज भएको मतदाताहरुको अनुभव छ । मतपत्रमा असम्बन्धित चुनाव चिह्न भएकाले पनि मतदाताहरु झुक्किएका छन् ।
केही मतदाताहरुले चुनाव चिह्नमा स्वस्तिक छाप लगाएपछि मतपत्र पट्याउन अप्ठेरो परेको अनुभव सुनाए । खासगरी बृद्धबृद्धाहरुलाई आजको चुनावमा मतदान गर्न अप्ठेरो परेको छ ।
यस्तै कतिपय दुर्गम जिल्लाहरुमा मतदाता शिक्षा नै सञ्चालन नगरिएको त्यहाँका मतदाताहरुको भनाइ छ । कर्णाली अञ्चलका हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पाका मतदाताहरुले मतदान गर्न अप्ठेरो परेको अनुभव सुनाएका छन् ।