दमौली/तनहुँको व्यास नगरपालिका-२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको ज्यान गएको छ । आठजना यात्रु घाइते भएका छन् ।

ज्यान जानेमा बसका चालक महोत्तरी जिल्ला बर्दिवास बस्ने ३५ वर्षका रामहरि काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक काफ्लेलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो । उपचारका क्रममा उनको राति सवा ११ बजे ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुने शुक्लागण्डकी नपा–४ का ३० वर्षीय छिरिङ घलेलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र अन्य सामान्य अवस्थाका घाइतेको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीको बेनीबाट काठमाडौं जाँदै गरेको वा ३ ख ९६२६ नंको बस दुर्घटनामा परेको हो । तीव्रगतिमा गुडेका कारण सो बस अनियन्त्रित भई बायाँ साइडको भित्तामा ठोक्किएर सडकमा पल्टिन पुगेको प्रहरीले जनाएको छ ।