भद्रपुर/नेपालमा प्रतिबन्धित भारतीय चिठठाको विषयमा विबाद भएको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुई जना फरार रहेका छन् । झापाको भद्रपुर बजारमा शुक्रवार साँझ भारतीय चिठठा परेको विषयमा वादविबाद हुदा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा भद्रपुर वजारका विनोद श्रेष्ठ रहेका छन् भने विकास अग्रवाल र संजीव शाह भागेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । भारतीय चिठठा काण्डले एक समूह विच विवाद चर्किएर घटनाले उग्ररुप लिन खोजेपछि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर घटना साम्य बनाएको हो । श्रेष्ठलाई नियन्त्रणमा लिएको केही वेरमा छाडेको वडा प्रहरी भद्रपुरले जनाएको छ । घटनामा सम्लग्न अग्रवाल र शाहलाई आइतबार वडा प्रहरी कार्यालयमा ल्याउने सर्तमा छाडिएको वडाका इन्सपेक्टर कुलप्रसाद चौधरीले बताए । श्रेष्ठसंग चिठठा फेला नपरेपनि यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको चौधरीले बताए । घट्ना स्थलमा कुनै प्रमाण फेला नपरेकोले अनुसन्धान गरेर मात्र निश्कर्षमा पुगिने उनले बताए । भागेकालाई चौकीमा राखेर भद्रपुरवासी बसेर यसको वारेमा टुगंो लगाइने उनको भनाई छ । घटना विवरण अनुसार भारतीय चिठठामा लत बसेका भद्रपुरका युवा तथा व्यापारीहरु मध्ये शुक्रवार ती समूहलाई एक लाख ९० हजार रुपैया परेको थियो । परेको चिठठाको एक ठेली ती समूहले बराबरी रकम हालेर किनेका थिए । चिठठा परेको ठेलीनै समूह बिच गायव भएपछि विवाद चर्किएको स्थानीय को भनाई छ । साहले भारतको गलगलियाबाट चिठठाको एक ठेली किनेर ल्याएका थिए । त्यो ठेलीमा अग्रवाल र श्रेष्ठलाई पनि पार्टनर बनाइएको थियो । रकमपरेसगै ठेली नै गायव भएपछि उनीहरु बिच विवाद चर्किएर घटना प्रहरी सम्म पुगेको थियोे । भद्रपुरमा चिठठाका घट्ना पटक पटक दोहोरी रहेका छन् । करिब छ महिना अघि बरामद भएको चिठठामा रकम परेपछि जिल्ला प्रहरी कार्यालय झापाबाटै चिठठाको ठेली गायव भएको थियो । केहिदिन अघि चिठठासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले आपसी सहमतिमा छाडेको थियो । भारतका केही युवा समूह दिनभर भद्रपुरमा चिठठा बिक्रीवितरण गराउन बसिरहेको बारेमा प्रहरीलाई पूर्व जानकारी हुदा समेत उनीहरु हाल सम्म पक्राउ पर्दैनन् । चिठठाका कारण भद्रपुरमा युवाहरुको जिवन नै वर्वाद हुन थालिसकेको छ । केही युवा रोजगारी गुमाएर बेरोजगारी नै भइसकेका छन् ।