के तपाइँले कहिल्यै भूत देख्नुभएको छ ? नदेखेपनि भूतका कुरा त प्रसस्तै सुन्नुभएको छ होला । तर सायद ज्यूँदो भुतका बारेमा चाहीँ सुन्नुभएको छैन होला । पश्चिम अफ्रिकाको एउटा सानो देश बेनिनमा ज्यूँदो भुत पाइन्छ । बेनिन यस्तो देश हो जहाँबाट अप्रिmकी कालो जादू बुडुको सुरुवात भएको थियो । यहाँका इगुनगुन समुदायका मानिसहरुलाई ज्यूँदो भूत भनिन्छ । आम धारणा अनुसार यो समुदायका मानिसहरुले अन्य समुदायका मानिसहरुलाई छोएरै मारिदिन सक्दछन् । उनीहरुले जसलाई छुन्छन् त्यसको मृत्यु हुन्छ । यो समुदायका मानिसहरुले आफ्नो अनुहार सधै नकाबले छोप्दछन् । जुन देख्दा नै डरलाग्दो हुन्छ । यस्तो नकाव निकै भारी हुन्छ र कपडा पनि अलग देखिन्छ । यिनीहरुको पहिरन पनि निकै डरलाग्दो र अनौठो हुन्छ जसका कारण मानिसहरु देख्दै डराउँछन् । यो समुदायको मान्यता अनुसार यिनीहरु ज्यूँदो भूतको माध्यमबाट मरिसकेका आफ्ना पूर्वजसँग जोडिन सक्दछन् । यी ज्यूँदो भूतमा उनीहरुका पूर्वजको आत्मा आउँछ रे । पितृसँग जोडिनसक्ने भएकाले यो समुदायका मानिसहरुलाई गाउँमा हुने विभिन्न खाले विवादहरुमा फैसला सुनाउने जिम्मा दिइन्छ । उनीहरुमा मृत पूर्वजको आत्मा चढ्ने भएकाले उनीहरुले पूर्वज समेतको दृष्टिबाट उपयुक्त न्याय दिन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैले यिनीहरुको फैसलालाई इश्वरको सन्देश तथा अन्तिम मानिन्छ । यो समुदायका मानिसहरु निकै छिटो छिटो बोल्छन् र उनीहरुको बोली आम मानिसको जस्तो लाग्दैन पनि । उनीहरु ड्रम बजाएर तथा नाचेर आफ्नो जिउमा पूर्वजको आत्मा बोलाउँछन् र विवादहरुमा निर्णय सुनाउँछन् । यसलाई हाम्रो देशका धामी झाँक्री जस्तै पनि मान्न सकिँदो रहेछ । एजेन्सी