काठमाडौं। नेपालमा आगामी हप्ता हुन लागेको स्थानीय तहको निर्वाचनप्रति भारतले खुसी व्यक्त गरेको छ ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग आज नयाँ दिल्लीमा भएको द्विपक्षीय औपचारिक भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा हुन लागेको निर्वाचनप्रति खुसी व्यक्त गरेकी हुन्। उनले मन्त्री डा महतसँग एउटा ठूलो लोकतन्त्रका हैसियतले आफ्नो छिमेकी मुलुक नेपालमा स्थानीय तहको निर्वाचनमार्फत हुन लागेको महत्वपूर्ण प्रजातान्त्रिक अभ्यासले भारतलाई अत्यन्त खुसी लागेको बताए ।
उनले नेपालको निर्वाचनको पूर्ण सफलताको कामना गर्दै निर्वाचनका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । विदेशमन्त्री स्वराजले पछिल्लो समयमा दुई देशबीच उच्चस्तरीय भ्रमण तथा भेटघाट भएका र यसबाट आपसी सम्बन्ध सुदृढीकरणमा थप सघाउ पुगेको धारणा राखेका थिए।
सो अवसरमा मन्त्री डा महतले नेपालको निर्वाचनका लागि भारतले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए भेटका क्रममा नेपाल–भारत सम्बन्ध र द्विपक्षीय हितका विविध विषय र नेपालका राष्ट्रपतिको हालै सम्पन्न भारत भ्रमणका बारेमा पनि कुराकानी भएको थियो । सो क्रममा द्विपक्षीय सहयोगका आयोजनाका बारेमा समीक्षा गर्दै समयमै सम्पन्नताका लागि उनीहरुले जोड दिए।
सो भेटमा मन्त्री डा महतले यसअघि नेपाल र भारतका मन्त्रिस्तरीय बैठकमा भएका सहमतिको कार्यान्वयन गर्न र संयुक्त संयन्त्रको कार्यलाई थप प्रभावकारी रुपमा अघि बढाई आपसी हित प्रवद्र्धनका क्षेत्रमा काम गर्न सक्नेगरी उपयोग गर्न आग्रह गरे ।
डा महत भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतको सम्मेलनको उद्घाटनका लागि आज बिहान नयाँ दिल्ली पुगेका हुन्। आजै साँझदेखि सुरु हुने उक्त सम्मेलनमा नयाँ दिल्लीस्थित नेपाल हेर्ने ७० भन्दा बढी देशका राजदूतको सहभागिता रहनेछ । नेपालले पहिलो पटक गर्न लागेको सो सम्मेलनमा नेपालको आर्थिक कूटनीतिअन्तर्गत आर्थिक विकास, परराष्ट्र सम्बन्ध, व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटनलगायत विषयमा परराष्ट्र सचिव शङ्करदास वैरागीसहित यस क्षेत्रका नेपाल र भारतका विज्ञको प्रस्तुति रहनेछ । मन्त्री डा महत शनिबार स्वदेश फर्कने कार्यक्रम रहने परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । रासस