विश्वकै सबैभन्दा बढी उमेरका व्यक्तिको रुपमा दाबी गरिँदै आएका इन्डोनेसियाका सोडिमेड्जोको निधन भएको छ ।
एमबाह घोटोका नामले पनि चिनेने सोडिमेड्जोको उमेर एक सय ४६ वर्ष रहेको दाबी गरिएको छ । उनको जाभाको मध्य क्षेत्रमा रहेको घरमै निधन भएको हो । सरकारी कागजात अनुसार सोडिमेड्जोको जन्म सन् १८७० को डिसेम्बरमा भएको हो । तर इन्डोनेसियामा सन् १९०० देखि मात्रै जन्मदर्ता गर्न थालिएको थियो । त्यसअघिका कागजात तथा दर्तामा त्रुटी हुने गरेको छ ।
तथापी सरकारी अधिकारीले भने सोडिमेड्जोका कागजात साँचो रहेको बताएका छन् । गएको अप्रिल १२ गते उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ६ दिनको अस्पताल बसाईपछि उनलाई घर लगिएको थियो । उनको आइतबार निधन भएको हो ।