काठमाडौं/ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार सीबीएस टिभीलाई अन्तर्वार्ता दिँदै उत्तर कोरियाका शासक किम जोङ–उन एकदमै चतुर व्यक्ति भएको टिप्पणी गरेका छन् ।

‘एकदमै सानो उमेरमा उनले शासनसत्ता सम्हाल्न पाए । मलाई लाग्छ धेरैजनाले त्यो शक्ति उनबाट खोस्न खोजे ।

उनका अंकल वा अरूले सत्ता लिन खोजेपनि उनी सत्तामा बस्न सफल भइरहे । त्यसैले उनी अत्यन्त चतुर व्यक्ति हुन्,’ उनले फेस द नेसनमा बोल्ने क्रममा भने ।

‘तर हाम्रो अगाडि भएको परिस्थितिलाई हामीले त्यत्तिकै छोड्नु हुँदैन । उनीहरूले वर्षौंदेखि गरिरहेको कामलाई कायम रहन दिनु हुँदैन ।’

उत्तर कोरियाले छाटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्ट उक्त अन्तर्वार्ता लिइएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार क्षेप्यास्त्र प्रहार गरेको केही क्षणमै विस्फोट भएको र असफल भएको थियो ।लगातार क्षेप्यास्त्र किन असफल भइरहेको भन्ने प्रश्नलाई ट्रम्पले छले । ‘हाम्रो सबै योजना सार्वजनिक गर्नु हुँदैन,’ उनले भने ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सम्बन्धको पनि ट्रम्पले प्रशंसा गरे ।

बीबीसीबाट