१. स्ट्रबरी किनी दिउला काली मोरीलाई कस्तो प्रकारको गीत हो ?

पछिल्लो समयमा निकै नै चर्चामा रहेकी गायिका मीना निरौलासँग गाएको छु । यस गीतबाट धेरै आशा छ । यो गीत एल्बम् या फिल्म के का लागि भनेर निर्णय लिइसकेको छैन । रिलिजपछि याे गीत पनि निकै लोकप्रिय बन्नेछ भन्ने आशा छ ।

२. लिम्बुवान आइडल यो समयमा काठमाडौंमा के गर्दैछ ? आइडल जितिसकेपछि जिम्मेवारी धेरै बढेको छ । लगातार पाँचवर्षदेखि संगीतलाई नै समय दिँदै आइरहेछु । दोस्रो एल्बम् यादमा समेट्ने गीतहरूलाई अहिले बजारमा प्रमोसन गर्दै हिँडिरा’छु । आउ प्रिय गीतले अहिले राम्रै प्रतिक्रिया पाउँदा यसलाई कसरी अझै चर्चामा ल्याउन सकिन्छ भनेर सबैको साथ सहयोग लिइरहेको छु ।

३. मोफसलका कलाकारलाई चर्चामा आउन गाह्रो हुन्छ रे नि हो ? म पनि पहिले–पहिले त्यस्तै नै सोच्थेँ, गीत राम्रो भएर पनि मिडियाले स्थान दिएन भन्ने लाग्थ्यो, तर आउ प्रिय गीतले जसरी राम्रो प्रतिक्रिया पायो, मैले सबै ठाउँबाट बराबर साथ सहयोग पाएको छु । त्यसैले अहिले मलाई लाग्छ । त्यो गलत सोचाइ रहेछ । राम्रो गीत भए जहाँबाट भए पनि चर्चामा आउन सकिँदो रहेछ ।

४. कला कला नै हो तर चर्चामा आउन आइडलकै महत्व हुन्छ हो ? म यो कुुरामा सहमत छैन । आइडल भएर पनि काम देखाउन नसकेर गुमनाम भएका धेरै छन् । हजारौं प्रतिस्पर्धीलाई जितेर आउँदा केही कला भएर नै आइडल हातमा आएको हुन्छ । आइडल मात्र सबैकुरा होइन, ढिलो होला तर आइडल प्राप्त नगर्नेले पनि धेरै गरेका छन् ।

५. संगीतमा प्रतिस्पर्धा धेरै छ नि ? मैले पनि यो कुरालाई धेरै थोरै आत्मसात गरेको छु । कसैको कुरा गरेर, आहारिस गरेर माथि पुगिँदैन । माथि पुग्नु छ भने त्यो समयलाई क्रिएसनतिर लगाएर अघि बढ्नु राम्रो हो । कसैले ‘इगो’ राख्छ भने त्यस्तालाई म जहिले अनुरोध गरिरहेको हुन्छु कि त्यो राम्रो होइन । काम गर्ने हो, आफूले गरेको कामको मूल्याङ्कन भएन भने के भो त ? आत्मसन्तुष्टि त मिल्छ ।

६.  बेलामौकामा भिडियो निर्देशनको पाटो सम्हाल्नुहुन्छ, अभिनय पनि आफ्नै एल्बम् भएर हो ? धेरै दिन बित्यो गीतमा मैले अभिनय गर्दा हेर्नेको आँखामा परेको छु । त्योभन्दा पहिले नगरेको होइन, यो गीतसँगै भिडियो चर्चामा आएर हो । मैले एक–दुईटा गीतको निर्देशन पनि गरेको छु । धरानमा मैले मल्टिमिडियाको तालिम लिएको थिएँ, सदुपयोग गरेको भनौं न हा.हा..हा... हा....

७. फेसबुकमा सँग–सँगैनै देखिनुहुन्छ, गायिका मेलिना राई तपाईको कस्तो साथी ? मेलिना चर्चामा आउनुपहिलेदेखीकै हामी राम्रो साथी हाैं । एकदिन मैले फेसबुकमा नेपालको चर्चित गायिका मेलिना राई भनेर फोटो पोष्ट गरेको थिएँ । एउटा साथीले चर्चित भन्न नमिल्ने भनेर कमेन्ट गर्नुभएको थियो । संयोगवश आजको समयमा नेपालको चर्चितमध्ये एक हुन् मेलिना ।

८. राजनीतिको विषयमा तपाईको विचार के छ ? हरेक नीतिको अंग हो राजनीति । गर्नु नगर्नु आफ्नो ठाउँमा छ, तर मलाई ‘पोलिटिक्स इज डर्टी गेम’ भन्न चाहिँ मन लाग्दैन । राजनीति बुझ्नु पर्छ । शिक्षा, स्वास्थ्य, व्यवसाय हरेक क्षेत्रलाई छोएको छ । त्यसैले थाहा पाउनु राम्रो हो ।

९.चुनावले कलाकारलाई छोएको छ कि छैन ? चुनाव देशमै भैसकेपछि हामी सामाजिक प्राणीलाई किन नछुने ? मेरो ठाउँमा को मेयर, वडाध्यक्ष बन्छ भन्ने कुराको उत्सुकता मलाई पनि छ ।