सिरहा / सिरहाको नरहा–३ खोरियाबाट बुधबार बेलुका बेपत्ता भएका बालक शुक्रबार बेलुका हत्या गरी पुरिएको अवस्थामा भेटिएका छन् । घर नजिकैको भाण्टामारीमा घाटीरेटी हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा स्थानीय भरोसी यादवका दुई वर्षका छोरा रमनको शव फेला परेको हो ।

प्रहरी र घर परिवारले विभिन्न ठाउँमा खोजी गरेपनि रमन भेटिएका थिएनन् । शुक्रबार बेलुका कुकुरले माटो खनेपछि त्यहाँ हेर्दा रमनको शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर बच्चाको शव निकाल्दा घाटी रेटी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

बालक रमनको शव पोष्टमार्टमका लागि सिरहा जिल्ला अस्पताल लगिएको छ । बुधबार बेलुका ७ः३० बजेसम्म बुवा भारोसी यादवले आफै बसेर छोराछोरीलाई सँगैराखेर पढाउनुभएको थियो । तर त्यसपछि केहीबेरमा रमन हराएका थिए ।

हराएकै दिन हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा दुईजनालाई पक्राउ गरेको छ । अनुसन्धनमा असर पर्ने भन्दै पक्राउ परेकाको नाम प्रहरीले खुलाएको छैन ।