दुब्लाउनका लागि भन्दै ६ वर्षसम्म गाँजा सेवन गरेकी सरस्वती बस्नेत अहिले शरीरसँगै अव्यस्त हुने प्रयत्नमा छन् ।

सुष्मा सल्मा तिमिल्सिनाले आफ्नो शरीरको तौलसँग जहिल्यै संघर्ष गर्नुपर्‍यो। यसैको मनोवैज्ञानिक आघातले उनलाई लागूपदार्थतर्फ डोर्‍यायो। आज उनी दुर्व्यसनी भएकी छिन्। ६ वर्षअघि सुष्माको तौल ८० केजी थियो। तर, उनी पेट घटाएर स्लिम हुन चाहन्थिन्। गाँजा सेवनले तौल घटाउन सहयोग पुर्‍याउँछ भन्ने सुनेपछि उनी गाँजा सल्काएको र आफू पातली भएको सपना देख्न थालिन्। “मलाई आफ्नो शरीर हेरेर जहिल्यै नराम्रो लाग्थ्यो। म पनि मेरा स्लिमु साथीहरू जस्तै देखिन चाहन्थें” २२ वर्षीया सुष्मा सम्झिन्छिन्, “गाँजा सेवन गर्न थालेपछि विस्तारै भोक हराउँदै गयो। एक वर्षभित्रमा ३० केजी घटें।” हेटौंडाकी स्थायी बासिन्दा सुष्मा काठमाडौंमा भाडामा साथीसँग बस्थिन्। त्यसैले पनि उनलाई गाँजा खान गाह्रो भएन। उनी प्रतिदिन करीब ३० खिल्ली गाँजा सेवन गर्न थालिन्, जुन सहजै पाइन्थ्यो। गाँजाको लतले उनलाई विस्तारै कडाखाले लागूपदार्थ प्रयोगतर्फ प्रेरित गरिरहेको थियो। आफू कहिलेदेखि गाँजाबाट लागूपदार्थका चक्कीतर्फ आकर्षित भएँ भन्ने कुरा सुष्मालाई थाहै भएन। तर, छोरीले चक्की खान थालेको दुई सातापछि नै अभिभावकले फेला पारे। र तत्काल काठमाडौंस्थित सोबर रिकभरी महिला पुनर्स्थापना तथा उपचार केन्द्रमा भर्ना गरे। “मैले तौल घटाएँ, स्लिम पनि भएँ तर लागूपदार्थले मेरो जीवन बर्बाद बनाइरहेको छ भन्ने कुरा कहिल्यै ख्याल भएन” उनी भन्छिन्, “धेरै पछुतो लागिरहेको छ। पुनः केही तौल बढाएर स्वस्थ जीवन बिताउन चाहन्छु।” शरीरबारे गरिने अनेकन् गलत टिप्पणीले युवतीहरूलाई दुब्लीरपातली बन्न लागूपदार्थको सेवन गर्न उक्साइरहेको छ। सोबर रिकभरीमा रहेका ४० जनामध्ये ९ जनाले सानै उमेरदेखि तौल घटाउन गाँजाको सेवन गर्न थालेका थिए। तीमध्ये कोही भने सुष्माजस्तै दुर्व्यसनी नै बने। विज्ञहरू यो समस्या नदेखिएको तर अत्यन्त गम्भीरु ठान्छन्। “स्लिम बन्ने मनोविज्ञानसँग जोडिएको हुनाले धेरै युवतीलाई त परामर्श दिनै गाह्रो हुन्छ”, सोबर रिकभरीका छिरिङ वाङ्दो भन्छन्।

शारीरिक वनावटलाई लिएर २४ वर्षीया सरस्वती बस्नेतले पनि मनोवैज्ञानिक आघात खेपिन्। किशोरावस्थामै उनको तौल १०० केजीभन्दा बढी थियो। बजारमा लुगा पाउनै गाह्रो हुन्थ्यो। शरीरकै कारण लज्जित भएको महसूस गर्न थालिन्। “मोटी भन्ने शब्दले मेरो मुटुमै छेड्थ्यो। म जसरी पनि आफ्नो तौल घटाउन चाहन्थें” उनी भन्छिन्, “अरु कुनै उपायले काम नगरे पछि गाँजा सेवन गर्न थालें।” १८ वर्षको उमेरदेखि नियमित गाँजा सेवन गर्न थालेकी सरस्वती २० केजी घट्ने योजनामा थिइन्। तर, गाँजाले तौल घटाएन, बदलामा उनी दुर्व्यसनी बन्न पुगिन्। केही सीप नलागेपछि केही महीनाअघि मात्रै श्रीमान्ले उनलाई सोबर रिकभरीमा भर्ना गरे। ६ वर्षे छोराकी आमा उनी अहिले आफ्नो शरीरलाई स्वीकार गर्न थालेकी छन्। “म स्लिम छैन, तर अहिले आफ्नो शरीरदेखि म खुशी छु”, सरस्वती भन्छिन्। विनिता थापामगर भर्खर १५ वर्षकी भइन्। आकर्षक शरीरका लागि तौल घटाउन चाहिन्। उनलाई आफ्नो पेट ठूलो भएको जस्तो लाग्थ्यो। एक साँझ गाँजा तान्दै बाटोमा हिंडिरहेकी उनलाई प्रहरीले पक्राउ गर्‍यो। र, भृकुटीमण्डपस्थित जोखिममा परेका बालबालिकाका लागि राष्ट्रिय केन्द्रमा बुझायो। अन्ततः उनलाई पुनर्स्थापना केन्द्र पुर्‍याइयो। पुनर्स्थापना केन्द्रमा आएपछि आफूले ठूलो पाठ सिकेको विनिताको भनाइ छ। “बरु थोरै खाएर पेट घटाउँछु तर लागूपदार्थबाट टाढै बस्छु”, उनी भन्छिन्। (उपचारमा संलग्न युवतीहरूको नाम परिवर्तन गरिएको छ।)

हिमालाखबरबाट साभार