सबै सेवाहरुको लागि एउटै कन्भर्जेन्ट बिलिङ्ग तथा कस्टमर केयर सिष्टम जडान गरेको नेपाल टेलिकमको सबै शुल्कहरु अब एउटै काउन्टरमार्फत बुझाउन सकिने भएको छ। एउटै काउन्टरबाट एउटै सिष्टम प्रयोग गरी सिडिएमए, जिएसएम, वाईम्याक्स, एफटिटिएच र एडिएसएल सेवाको नयाँ लाइन जडान, महसुल संकलन लगायतका सेवाहरु दिइने टेलिकमले जनाएको छ। हालसम्म यी सेवाहरु लिन छुट्टाछुट्टै काउन्टर तथा कार्यालय धाउनुपर्ने वाध्यता छ। यसले कार्यालयको कार्य सम्पादनमा छिटोछरितोपना आउनुका साथै ग्राहक सेवा समेत सहज हुने विश्वास लिइएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन्। फरक–फरक सिष्टमबाट बिलिङ्ग तथा ग्राहक सेवा हुँदै आएका कम्पनीका बिभिन्न सेवाहरुलाई एउटै सिष्टमभित्र ल्याउने परियोजना अन्तर्गत २०७४ वैशाख १० गतेदेखि टेलिकमले एफटिटिएच र एडिएसएल सेवाको बिलिङ्ग कन्भर्जेन्ट रियल टाइम बिलिङ्ग सिष्टमबाट गर्न थालेको छ। यस अघि नै टेलिकमले सिडिएमए, जिएसएम र वाईम्याक्स सेवालाई कन्भर्जेन्ट बिलिङ्ग सिष्टममा लगिसकेको थियो। कम्पनीको अन्डरग्राउण्ड अप्टिकल केबुल, एडिएसएस फाइवर र नेपाल विद्युत प्राधिकरणबाट भाडामा लिई सञ्चालनमा रहेको अप्टिकल ग्राउण्ड वायर (ओपिजिडब्लु) समेत गरी हाल कम्पनीको अप्टिकल फाइवर सञ्जालमा ५५ जिल्ला समेटिएकोमा सो सञ्जाल थप विस्तारका लागि पहाडी जिल्लाका एक्सचेन्ज, बिटिएस, रिपिटरहरुलाई समेत समेट्ने गरी कम्पनीद्वारा नयाँ एडिएसएस फाइवर आयोजनाको कार्य अघि बढाइएको कम्पनीले जनाएको छ। यस आयोेजनाको उद्देश्य कुल एक हजार कि.मि. को मार्गमा अप्टीकल फाइबर नेटवर्क विस्तार गर्ने रहेको छ। यो नेटवर्कले देशका विभिन्न दुर्गम तथा विकट स्थानहरुमा समेत भ्वाइस, डाटा तथा भिडीयो सेवा प्रदान गर्न सकिने गरी सूचना मार्गको बिस्तार हुनेछ। यो नेटवर्कले भोजपुर, संखुवासभा, खोटाङ्ग, रामेछाप, दोलखा, मुस्ताङ्ग, दैलेख, डडेलधुरा, डोटी, बैतडी, अछाम र अन्य स्थानहरुलाई कम्पनीको विद्यमान अप्टिकल फाइबर केवल संरचनामा आवद्ध गर्ने र यस आयोजनाको समापन पश्चात कम्पनीको अप्टिकल फाइवर सञ्जालमा कुल ६६ जिल्ला पुग्नेछन्। नेपाल टेलिकमले २०७४ बैशाखको पहिलो हप्ताबाट मुलुककै एक प्रमुख पर्यटकीय स्थल मुगु जिल्लाको रारा ताल क्षेत्रमा थ्रीजी सेवा संचालनमा ल्याइसकेको जनाएको छ। यसबाट सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सूचना तथा सञ्चारको पहुँचमा सहजता भएको छ। सो थ्रीजि सेवाबाट रारा ताल आसपासका साथै रारा ९ताल्चा० विमानस्थल क्षेत्रमा सेवा पुगेको छ। नेपाल टेलिकमले २०७४ बैशाख एक गते देखि नेपाल सरकारबाट सञ्चालित ‘..डट जिओभी डट एनपी’को डोमियनका करिब ५५० वटा वेबसाइटहरु जीएसएम मोबाइल सेवाबाट निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको जनाएको छ। निःशुल्क हेर्न सकिने नेपाल सरकारका उल्लिखित वेबसाइटहरुको सूची टेलिकमको वेबसाइटमा उपलब्ध गराइएको छ।